गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा टाउन कमिटीको सांगठनिक सभा सम्पन्न
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा टाउन कमिटीको सांगठनिक सभा सम्पन्न


सोनादा, 07 जून (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) सोनादा टाउन कमिटीको एक विशेष सांगठनिक सभा सोनादाको भालुटार सार्वजनिक भवनमा सम्पन्न भयो। पार्टीको मिडिया सेल प्रभारी दिनेस साम्पाङका अनुसार, उक्त सभा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्रीको अध्यक्षतामा सम्पन्न भयो।

सभामा वर्तमान राजनीतिक परिस्थिति र गोर्खा जातिको दीर्घकालीन मुद्दालाई लिएर अध्यक्ष रुस्तम छेत्री र सचिव भुपेन गुरुङले गम्भीर विचार तथा विश्लेषण प्रस्तुत गरे। रुस्तम छेत्रीले संगठन विस्तार, पार्टीको भावी रणनीति तथा कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि सबै प्रतिनिधिहरूलाई सचेत र सक्रिय रहन आग्रह गर्दै भने, लामो संघर्षपछि भारत सरकारद्वारा गोर्खा जातिको निम्ति सुनवाइको आवाज सुनिने समय आएको छ। यो उपलब्धिको मूल कारण गोरामुमो अध्यक्ष मन घिसिङ, पार्टी शीर्ष नेतृत्व, केन्द्रिय समिति र सम्पूर्ण कार्यकर्ताहरूको निरन्तर संघर्ष हो।

उनले 2007 मा भएको घटनाको स्मरण गर्दै त्यस्ता त्रासदी दोहोरिन नदिन अब एकताको खाँचो रहेको बताए। उनले भने, अध्यक्ष मन घिसिङले गोर्खा जातिको पक्षमा दिल्लीमै ठूलो राजनीतिक बोझ बिसाएर फर्किएको वक्तव्यले संकेत गर्छ कि अब गोर्खा जातिको भविष्यमा नयाँ उज्यालो आउँदैछ। उनले भने, अब पनि हामी चुक्यौं भने फेरि गोर्खा जातिको भविष्य कालो बादलले ढाक्नेछ। तर गोरामुमोले त्यो हुन दिने छैन, हामी अब चट्टान जस्तो भएर उभिनेछौँ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande