एक दिवसीय विलिभर्स नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि आर्टिस्ट इलेभेनको झोलीमा
एक दिवसीय विलिभर्स नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि आर्टिस्ट इलेभेनको झोलीमा


खरसाङ, 07 जून (हि.स.)। एक दिवसीय विलिभर्स नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि आर्टिस्ट इलेभेनले जित्न सफल बनेको छ।‌ द कमिटीको आयोजनामा पानीघट्टाको खेल मैदानमा शनिवार भएको एक दिवसीय विलिभर्स नक आउट क्रिकेट टुर्नामेन्ट अन्तर्गत चारवटा क्रिकेट टिमहरुले भाग लिएका‌ थिए।‌

यस क्रिकेट टुर्नामेन्टको पहिलो खेल सिलगढी युनाइटेड र एपोस्टल युनाइटेडमाझ सम्पन्न भयो। 15-15 ओभरको यस खेलमा एपोस्टल युनाइटेडले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि सिलगढी युनाईटेडले ब्याटिङ गर्दै 14 ओभर 2 बलमा सबै विकेट गुमाएर 115 रनको लक्ष्य दिएको थियो।

116 रनको लक्ष्यलाई खेदो गर्दै एपोस्टल युनाइटेडले 9 ओभरमा नै 2 विकेट गुमाएर लक्ष्य हासिल गऱ्यो। एपोस्टल युनाइटेडको तर्फबाट कप्तान सामूएल पोर्तेलले सर्वाधिक 19 बलमा 50 रन बनाए। एपोस्टल युनाइटेडले 8 विकेटले सजिलै खेल जित्यो।

दोस्रो खेल ईलाइट खरसाङ र आर्टिस्ट इलेभेनमाझ भएको थियो। यस खेलमा आर्टिस्ट ईलेभेनले निर्धारित 15 ओभरमा 100 रन बनाए। 101 रनको लक्ष्यलाई खेदो गर्दै 14 ओभरमा 94 रन बनाएर ईलाइट खरसाङ अल आउट भयो। यस खेलमा आर्टिस्ट इलेभेन 6 रनले बिजय भएर फाइनलमा प्रवेश गऱ्यो।

ईलाइट इलेभेनको तर्फबाट रोबिन थापाले सर्वाधिक 3 विकेट लिए भने प्रभाकर राईले सर्वाधिक 34 रन बनाए। यस एक दिवसीय विलिभर्स नक आउट क्रिकेट टुर्नामेन्टको फाइनल खेल आर्टिस्ट इलेभेन र एपोस्टल ईलेभेनमाझ सम्पन्न भयो। यस फाइनल खेल केवल 12-12 ओभरको खेलाइयो।

फाइनल खेलमा आर्टिस्ट इलेभेनले‌ पहिला ब्याटिङ गर्दै निर्धारित 12 ओभरमा 92 रन बनाएर विपक्षी दललाई 93 रनको लक्ष्य दियो। एपोस्टल युनाइटेडको सम्पूर्ण टिम 84 रनमा अल आउट भए भने आर्टिस्ट इलेभेनले‌ 8 रनले खेल जित्दै एक दिवसीय विलिभर्स नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि आफ्नो नाम गऱ्यो।

आर्टिस्ट इलेभेनको‌ तर्फबाट ईस्कल राईले 5 विकेट अनि उज्वल राईले 3 विकेट लिए।‌ यसैगरी, आर्टिस्ट इलेभेनका ईस्कल राईले 9 विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी बने भने एपोस्टल युनाइटेडको तर्फबाट कप्तान सामूएल पोर्तेलले सर्वाधिक 50 बनाए। यस क्रिकेट टुर्नामेन्टमा म्यान अफ् द टुर्नामेन्ट आर्टिस्ट इलेभेनका ईस्कल राई चयन भएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande