सानु लामाको निधनसँगै नेपाली साहित्य, सिक्किमे समाज, राजनीति र इतिहासको एउटा गर्विलो अध्याय समाप्त: चामलिङ
सानु लामा


गान्तोक, 12 जुलाई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष पवन चामलिङले ‘पद्मश्री' सानु लामाको पुण्य आत्मालाई सायुज्य प्राप्त होस् अनि शोकसन्तप्त परिवारलाई यो वज्रघात सहने शक्ति ईश्वरले प्रदान गरून् भनी कामना गरेका छन्। स्व. लामाले नेपाली साहित्य अनि जनजीवनमा आफ्ना कृति र कर्महरूले एउटा कहिल्यै नमेटिने गहिरो छाप छोड़ेर गएका छन् भन्दै चामलिङले उहाँ आफ्ना कृति र कर्महरूमा सदैव बाँचिरहनेछन् भनी बताएका छन्।

उल्लेख्य, सिक्किमका एक वरिष्ठ साहित्यकार पद्मश्रीले सम्मानित सानु लामाको आज सिलगढीको स्थानीय एक अस्पतालमा निधन भएको छ।

एसडीएफ अध्यक्षले आज जारी आफ्नो शोक सन्देशमा भने, ‘पद्मश्री' सानु लामा अब हामीमाझ भौतिक शरीरमा रहनुभएन। उहाँको निधनसँगै नेपाली साहित्य, सिक्किमे समाज, राजनीति र इतिहासको एउटा गर्विलो अध्याय समाप्त भएको छ। जन्मले गरूड़ सिंह लामा आफ्ना कर्म र कीर्तिहरूमा ‘सानु लामा' नामले जगतप्रसिद्ध हुनुहुन्थ्यो। कवि, कथाकार, गीतकार, अनुवादक सानु लामाका कृतिहरू अङ्ग्रेजी, हिन्दीलगायत अन्य धेरै भारतीय भाषाहरूमा अनुवाद भएका छन्।

छोग्यालकालीन सिक्किमको राष्ट्रिय गीत ‘जहाँ बग्छ टिस्टा-रङ्गीत... ' -का रचयिता लामाले थुप्रै मार्मिक नेपाली गीतहरूको पनि रचनाको उल्लेख गर्दै उनले भने, पेशाले इञ्जिनियर सानु लामाले साहित्य र समाजको विकास अनि रूपान्तरण दिनुभएका अतुलनीय योगदानको निम्ति सन् 1993 –मा ‘मृगतृष्णा' –का निम्ति साहित्य अकादमी पुरस्कार प्राप्त गर्नुभयो भने सिक्किम भानु पुरस्कार, डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार, मदन व्याख्यानमाला पुरस्कार आदि प्रमुख पुरस्कारहरू प्राप्त गर्नुभयो। सन् 2005 –मा भारत सरकारले उहाँलाई देशको चौथो सर्वोच्च नागरिक पुरस्कार ‘पद्मश्री'-ले विभूषित गऱ्यो।

साहित्यकर्मसँगै भाषा आन्दोलनमा पनि स्व. लामाको महत्वपूर्ण योगदान रहेको एसडीएफ अध्यक्षले बताएका छन्। नेपाली भाषा मान्यताको आन्दोलन शिखरमा पुगेका बेला गठित भारतीय नेपाली राष्ट्रिय परिषद् (भानेराप)– का उहाँ संस्थापक सचिव थिए भन्दै उनले भने, उहाँ नेशनल बुक ट्रस्ट, साहित्य अकादमी, दिल्ली, नेपाली साहित्य परिषद, सिक्किम अनि हिमालयन राइटर्स फोरमसँग पनि जोड़िनुभएको थियो। सिक्किम अकादमीका उहाँ प्रथम अध्यक्ष हुनुहुन्थ्यो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande