खरसाङ, 25 जुलाई (हि.स.)। खरसाङ नगरपालिकाको वार्ड नम्बर 13 मा अर्बन पब्लिक हेल्थ सेन्टरको निर्माणको लागि शिलान्यास कार्य सम्पन्न भएको छ। खरसाङ नगरपालिका क्षेत्रमा बढिरहेको जनसंख्यालाई ध्यानमा राखेर जनसाधारणको स्वास्थ्य सुविधाको लागि खरसाङ नगरपालिकाको तर्फबाट 35 वटा बेड भएको स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ।
उक्त शिलान्यास कार्यक्रममा खरसाङ महकुमा अधिकारी आईएएस बिन्दबासिनी तेजा दिपक, सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, प्रेमेन्द्र गुरूङ लगायत अन्य पदाधिकारीहरु र समाजका प्रतिनिधिहरु उपस्थित थिए।
उक्त स्वास्थ्य केन्द्रको निर्माण 89 लाख 60 हजार रुपियाँको लागतमा गरिने बताइएको छ। यसको क्षेत्रफल 15 वर्ग फिट रहेको र यसको निर्माण कार्य एक वर्षभित्रमा पूरा गरिने छ। यसका साथै, बिहान समय खरसाङको टीभी सेनिटोरियम क्षेत्रमा पाइखानाको मरमत्ति कार्य पनि शुरु गरिएको छ। यसको लागत खर्च 5 लाख 50 हजार रहेको जानकारी प्राप्त भएको छ।
खरसाङको वार्ड नम्बर 13 मा शिलान्यास गरिएको 35 बेडको स्वास्थ्य केन्द्रको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङले खरसाङ नगरपालिका क्षेत्रमा बढिरहेको जनसंख्यालाई ध्यानमा राखेर नयाँ अस्पताल निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको जानकारी गराए।
नगरपालिकाले मानिसहरुको स्वास्थ्यमाथि पनि ध्यान केन्द्रित गरिरहेको र यसै क्रममा खरसाङको वार्ड नम्बर 13 मा नयाँ अस्पताल निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको उनले बताए। उनले यस नयाँ अस्पताल भवनमा 35 वटा बेडहरु रहने र यसले स्थानीयहरुलाई धेरै सुविधा हुने बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक