शिवखोला ग्राम पञ्चायतको नयाँ भवनको उद्घाटन
शिवखोला ग्राम पञ्चायतको नयाँ भवनको उद्घाटन


खरसाङ, 25 जुलाई (हि.स.)। खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायतको नयाँ भवन आज उद्घाटन गरिएको छ। तीनधारे महानदी समष्टिको सिपाहीधुरामा रहेको शिवखोला ग्राम पञ्चायतको नयाँ भवनको निर्माण कार्य पूरा भएपछि आज विधिवत् रूपमा उद्घाटन गरिएको हो।

उक्त नवनिर्मित पञ्चायत भवनको उद्घाटन प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्री प्रधानको बाहुलीबाट गरियो। यस अवसरमा विशिष्ट अतिथिको रुपमा उपस्थित तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीको बाहुलीबाट पूजा अर्चना गरेर नयाँ भवनमा प्रवेश गरियो।

20 लाख रुपियाँको खर्चमा निर्माण गरिएको शिवखोला ग्राम पञ्चायतको नयाँ भवनमा एक सयजना जति आरामले बस्न सक्ने सुविधा रहेको छ। कार्यक्रममा दिपेस तामाङले गीत प्रस्तुत गरेका थिए। उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्री प्रधान, क्षेत्रीय सभासद नवराज छेत्री, पञ्चायत समिति सदस्या अनिरा वाईबा आदिले वक्तव्य राखेका थिए।

शिवखोला ग्राम पञ्चायतका पञ्चायत प्रधान मोहनकुमार प्रधानले पहिले पञ्चायत भवन पुरानो र सानो थियो, तर नयाँ भवन उद्घाटन भएपछि अब नयाँ भवनमा काम गर्न सुविधा हुने बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande