खरसाङमा क्षयरोगमुक्त अभियानलाई लिएर कार्यक्रम अनि बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण
खरसाङमा क्षयरोगमुक्त अभियानलाई लिएर कार्यक्रम अनि बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण


खरसाङ, 28 जुलाई (हि.स.)। खरसाङ महकुमा अस्पतालमा सोमवार क्षयरोगमुक्त अभियानलाई लिएर सचेतना कार्यक्रम साथै क्षयरोगका बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। भारत सरकार र पश्चिम बंगाल सरकारले क्षयरोगमुक्त अभियान घोषणा गरेपछि इण्डियन रेड क्रस सोसाइटी, खरसाङ महकुमा अस्पतालको टीवी युनिटले यस अभियानलाई अघि बढाउने निर्णय गर्दै खरसाङ महकुमा शासकको निर्देशनमा यो कार्यक्रम सम्पन्न गरिएको बताइएको छ।

उक्त कार्यक्रमलाई खरसाङ व्यवसायी संगठन, इण्डियन रेड क्रस सोसाइटी, सन्त अल्फन्सेस 1986 को ब्याच र डेपुटी म्याजिस्टेटको रामकृष्ण मिशनका 1998 ब्याचले सहयोग गरेको बताइएको छ। यस कार्यक्रमलाई खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानले सम्बोधन गरेका थिए।

कार्यक्रममा क्षयरोग विषयमा सुपर भाइजर राजु शर्माले विस्तृत जानकारी गराए। उनले खरसाङ नगरपालिका क्षेत्रमा हालमा 16 जना र खरसाङ खण्ड क्षेत्रमा जम्मा 89 जना क्षयरोगका बिमारीहरु रहेको र खरसाङको टीवी सेनिटोरियममा जम्मा 18 जना उपचाराधीन अवस्थामा रहेको बताए।

यसै कार्यक्रममा खरसाङ नगरपालिका क्षेत्र र खरसाङ खण्ड क्षेत्रका क्षयरोगका 36 जना बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गरियो। ती सबै बिमारीहरुलाई उनीहरुले आगामी 6 महिनासम्म फलोअप गर्ने भएको पनि जानकारी प्राप्त भएको छ।

यस क्षयरोगमुक्त अभियान कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै इण्डियन रेड क्रस सोसाइटी खरसाङका सचिव बिजय सिञ्चुरीले क्षयरोगका‌ बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गर्न साथै भारत सरकार र पश्चिम बंगाल सरकारको क्षयरोगमुक्त अभियान अन्तर्गत खरसाङमा कार्यक्रम आयोजना गरिएको बताए। उनले पहिलेको तुलनामा अहिले क्षयरोगका बिमारीहरु कम हुँदै गएको र सरकारले पनि धेरै पहलहरु गरिरहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande