गैरी गाउँ ग्राम सुधार समाज नयाँ कमानद्वारा नशामुक्त समाजको लागि जनचेतना कार्यक्रम सम्पन्न
गैरी गाउँ ग्राम सुधार समाज नयाँ कमानद्वारा नशामुक्त समाजको लागि जनचेतना कार्यक्रम सम्पन्न


सोनादा, 31 अगस्त (हि.स.)। गैरी गाउँ ग्राम सुधार समाज नयाँ कमान लोवर सोनादाले आफ्नो 25 औं वर्ष पूरा गरेकोमा क्षेत्र एवम् क्षेत्रवासीलाई लिएर एउटा नशामुक्त जनचेतना कार्यक्रमको आयोजना गऱ्यो। वर्तमान समयमा हाम्रो गाउँ समाज जति विकसित बन्दै गइरहेको छ त्यति नै समाजका युवाहरूमा विकृति पनि आइरहेको छ। समाजका युवाहरू शिक्षित त बन्दैछन् तर कतिपय युवाहरू अनैतिक, नशालु पदार्थहरूमा संलग्न भएकाले भावी पीढीलाई समेत प्रभावित पार्ने परिवेश देखा परिरहेको छ।

यही विषयलाई ध्यानमा राख्दै आइतवार आयोजित यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रेमुस भोटिया र सोनादा आउट पोष्टका अफिसर इनचार्ज योगेश ठकुरी लगायत डीएलएसएका प्रतिनिधिहरू र स्थानीय छवटा समाजका प्रतिनिधिहरू उपस्थित रहेका थिए। समाजसेवी अर्जुन तामाङको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमलाई डीएलएसएबाट उमा तिवारी, अनमोल प्रधान, केन्द्र थापाले सम्बोधन गर्दै वर्तमान समयमा नशालु पदार्थको सेवन र ओसारपसार गर्ने काम हाम्रै केही युवाहरूबाट भइरहेको तथा यसको रोकथाम सही समयमा हुन नसके समाजको भविष्य राम्रो हुन नसक्ने बताएका‌ छन्।

वक्ताहरूले समाजका यस्ता व्यक्तिहरूलाई चिन्हित गरेर तुरुन्तै नजिकैको पुलिस चौकीमा खबर गर्नुपर्ने बताउँदै हालैमा सोनादा आउट पोष्टले यस विषयमा धेरै प्रशसंनीय पहल गरिरहेकोमा बधाई दिए। सभालाई वरिष्ठ समाजसेवी प्रेमुश भोटिया र सोनादा पुलिस आउट पोष्ट अधिकारी योगेश ठकुरीले नशालु पदार्थ सेवनबाट हुने नोक्सान र समस्याबारे सचेतनामूलक मन्तव्य राखेका थिए।

यस अवसरमा गैरी गाउँ ग्राम सुधार समाज नयाँ कमान लोवर सोनादाले समाजका संस्थापक सदस्यहरू र विभिन्न विधाहरूमा विशिष्ट योगदान दिनेहरूलाई सम्मान जनायो। कार्यक्रममा सागरमाथा ब्याण्डको पनि प्रस्तुति रहेको थियो भने समाजका नानीहरूले नृत्य प्रस्तुत गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande