खरसाङदेखि महानदीसम्म र महानदीदेखि खरसाङसम्म टोय ट्रेनको जोय राइड शुरु
खरसाङदेखि महानदीसम्म र महानदीदेखि खरसाङसम्म टोय ट्रेनको जोय राइड शुरु


खरसाङ, 20 सेप्टेम्बर (हि.स.)। दार्जिलिङ हिमालयन रेलवेको तर्फबाट शनिवारदेखि प्रत्येक शनिवार खरसाङदेखि महानदीसम्म सूर्यास्त (सन सेट) को समयमा र महानदीदेखि खरसाङसम्म प्रत्येक आइतवार बिहान सूर्योदय (सन राइज) को समयमा विश्व प्रसिद्ध टोय ट्रेनको जोय राइड शुरु गरिएको छ। पहिलो शनिवार दार्जिलिङ हिमालयन रेलवेको वाष्पचालित इञ्जिनको साथमा खरसाङ रेलवे स्टेशनबाट जोय राईड महानदीसम्मको लागि शुरु गरियो।

यस क्रममा खरसाङ रेलवे स्टेशनमा रेलवेका एडीआरएम मनोजकुमार सिंह, दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिशप चौधरी, रेलवेका ट्राफिक इन्स्पेक्टर चन्दनकुमार र अन्य पदाधिकारीहरुले हरियो झण्डा देखाएर सेवा शुरु गरे। अब प्रत्येक शनिवार खरसाङदेखि महानदीसम्म सूर्यास्तको मनमोहक दृश्यको साथमा पर्यटकहरुले जोय राइडको आनन्द लिने सक्नेछन्। यसरी नै प्रत्येक आइतवार बिहान सूर्योदयको समयमा महानदीदेखि खरसाङसम्म जोय राइडको आनन्द लिन सक्नेछन्।

शनिबार पहिलो दिनको जोय राइडमा खरसाङ क्षेत्र, गिद्ध पहाड, सिरुबारी, महानदी क्षेत्रका वरिष्ठ नागरिकहरुलाई नि:शुल्क खरसाङदेखि महानदीसम्म र महानदीदेखि खरसाङसम्म जोय राइड गराइयो। यसका साथै खरसाङ प्रेस क्लबका‌ पत्रकारहरुले पनि जोय राइडको आनन्द लिए। खरसाङ रेलवे स्टेशनबाट शुरु गरिएको जोय राइड गिद्ध पहाडको रक गार्डनस्थित भ्यु पोइन्टमा 10 मिनटको लागि रोकिएको थियो भने त्यहॉंबाट महानदीसम्मको यात्रा तय गरिएको थियो।

दार्जिलिङ हिमालयन रेलवेको जोय राइड दार्जिलिङ रेलवे स्टेशनबाट घुमसम्म प्रत्येक व्यक्ति 1500 रुपियाँ रहेको छ, जुन पर्यटकहरुका लागि केही महँगो भए तापनि खरसाङदेखि महानदीसम्म सूर्यास्त र सूर्योदयको‌ समयमा शनिवार र आइतवार गरिने ट्रोय ट्रेनको जोय राइडप्रति व्यक्ति केवल 500 रुपियाँ रहेको जानकारी प्राप्त भएको छ। यो सेवा विशेष गरेर आगामी चाडपर्वलाई ध्यानमा राखेर शुरु गरिएको बताइएको छ। यो सेवा 2 नोभेम्बर, 2025 सम्म‌ जारी रहनेछ भने राम्ररी चलेको खण्डमा यसलाई निरन्तरता दिइने बताइएको छ।

पहिलो दिन विश्व धरोहर वाष्पचालित टोय ट्रेनको जोय राइड गर्न पाउँदा स्थानीय वरिष्ठ नागरिकहरु र अन्यहरु धेरै खुशी देखिएका थिए।‌ मानिसहरुले लामो समयपछि टोय ट्रेनको यात्रा गर्न पाएकोमा खुशी व्यक्त गरे भने यो ट्रेन निरन्तर चलिरहनु पर्ने मन्तव्य व्यक्त गरेका छन्।‌ उनीहरुले टोय ट्रेन यहाँको धरोहर र सम्पत्ति रहेको बताउॅंदै यसको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए।‌ यसका साथै टोय ट्रेनको भाँडा केही कम गरिए पर्यटकहरुका‌ साथै स्थानीयहरुका लागि पनि धेरै राम्रो हुने उनीहरूले बताएका छन्।

पत्रकारहरुसित कुराकानी गर्दै एडीआरएम मनोजकुमार सिंहले खरसाङदेखि महानदीसम्म र महानदीदेखि खरसाङसम्म सूर्यास्तको मनमोहक दृश्यको साथमा प्रत्येक शनिवार अनि प्रत्येक आइतवार बिहान सूर्योदयको समयमा महानदीदेखि खरसाङसम्म जोय राइड केवल 500 रुपियाँ रहेको जानकारी गराए। उनले यो टोय ट्रेनको जोय राइड आगामी 2 नोभेम्बरसम्म चल्ने र यो सेवा राम्ररी चलेको खण्डमा यसलाई निरन्तरता दिइने बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande