सोनादा, 20 सेप्टेम्बर (हि.स.)। दार्जिलिङ पहाडका युवाहरुलाई उद्यमी बनाउने उद्देश्य राखेर अग्रोलाइफ ट्रस्ट अनि सिपाहीधुरामा अवस्थित वुडकटको संयुक्त तत्वावधानमा सुँगुर पालन तालिम केन्द्रको आज विधिवत उद्घाटन गरिएको छ। अग्रोलाइफ ट्रस्टको तर्फबाट जानकारी दिँदै एसपी शर्माले भने, यहाँ प्रशिक्षण लिनेहरूलाई हामी पिग-प्रेनुर अथवा सुँगुर पालनको उद्यमी बनाउनु चाहन्छौ। उहाँहरू पक्का सुँगुर पालनको व्यवसायमा लाग्नेछन्।
ट्रेनिङ कुन कुन क्षेत्रमा दिइन्छ भन्ने विषयमा शर्माले भने, कुनै पनि व्यवसायलाई चलाउन ज्ञान, पशुको स्वास्थ, फण्डिङ अनि बजार व्यवस्था जान्नु अत्यन्तै आवश्यक छ। व्यवसायका यी तीनवटै पाटाहरुलाई जोड्ने प्रशिक्षण तथा सहयोग हामी गर्नेछौं।
उपलब्ध डाटा अनुसार, 2024 मा सुँगुरको मासुको खपत भारत देशमा मात्र 3.17 लाख मेट्रिक टन रहेको थियो। दार्जिलिङ अनि हिमाली क्षेत्रमा यसको डिमाण्ड दैनिक रूपमा बढिरहेको छ। सुँगुर पालन भनेको खोरमा सुँगुर हाल्नु मात्र होइन। बजार केन्द्रित सुँगुर पालन गर्नुको निम्ति सुँगुरको स्वास्थ्य, खानपिन, इन्स्योरेन्स अनि बजार व्यवस्था पनि राम्रो हुनुपर्छ। आजको सुँगुर पालकहरुले व्यवसायिक रूपमा सुँगुर पालन नै गरेका छैनन्। सुँगुर हुर्कन्छ तर त्यसको बजार व्यवस्था नै छैन भने पालकले दाम नै पाउँदैन।
शर्माले भने, यस तालिम केन्द्रमा हामी सफल पालकहरुदेखि लिएर यस विषयका एक्सपर्टहरुसँग पनि प्रशिक्षार्थीहरुलाई भेट गराउने छौं। राम्रो ब्रीडको बच्चा उपलब्ध गराउने छौं साथै उनीहरूलाई व्यवसाय सुरु गर्ने सुरुवाती रकम पनि दिलाउने छौं। उद्घाटन कार्यक्रममा सभासदहरूमा नुरी शेर्पा, श्याम शेर्पा अनि नवराज छेत्री अनि स्थानीय युवाहरुको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक