राज्यपालले वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे
गान्तोक, 25 सेप्टेम्बर (हि.स.)। केन्द्रिय कृषि विश्वविद्यालय, इम्फाल अन्तर्गत बागवानी महाविद्यालय, बर्मेकमा आज एक भव्य कार्यक्रम आयोजन गरियो, जसमा महाविद्यालयको प्रशासनिक एवं शैक्षणिक भवन, छात्रावासका साथै वार्षिक जोनल कार्यशाला 2025 को उद्घाटन गरियो। उक्त आयोजन ज्ञान, नवाचार र क्षेत्रीय कृषि विकासको दिशामा एक ऐतिहासिक पहल प्रमाणित भएको राजभवनले विज्ञप्तिमा बताएको छ।
यस अवसरमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिको रूपमा उपस्थित थिए। उनको साथमा केन्द्रिय कृषि राज्यमन्त्री भगीरथ चौधरी, राज्य कृषि मन्त्री पूरण गुरुङ र क्षेत्र विधायक बीएस पन्त पनि उपस्थित थिए।
राज्यपालले आफ्नो सम्बोधनमा आफू स्वयं एक किसानको छोरा रहेको बताउॅंदै आफ्नो गाउॅंमा गरिएका कृषि नवाचारहरूको बारेमा जानकारी गराए। उनले किसानहरूको समस्याहरूलाई बुझ्नु र त्यसका लागि स्थानीय समाधान प्रस्तुत गर्नु नै सॉंचो सेवा रहेको बताए।
राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी सोच र समावेशी नीतिको सराहना गर्दै भने, प्रधानमन्त्रीजीको अष्ट लक्ष्मी अवधारणा अन्तर्गत आज पूर्वोत्तर भारत विकासको मुख्यधारामा बलियोसॅंग जोडिएको छ। उनले केन्द्र सरकारको किसान हितैषी योजनाहरू जस्तै प्रधानमन्त्री किसान सम्मान निधि योजना, प्रधानमन्त्री कृषि सिंचाई योजना आदि विषयमा जानकारी गराए।
राज्यपालले कार्यक्रममा उपस्थित वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे। उनले भने, ठूलो अलैंची सिक्किमको पेटेन्ट फसल हो। यो राज्यको तर्फबाट विश्वलाई दिइएको एउटा अन्मोल उपहार हो। उनले वैज्ञानिकहरूलाई किसानहरूको हितलाई केन्द्रमा राखेर अनुसन्धान गर्न र स्थानीय कृषि समस्याहरूको समाधानका लागि नवाचारलाई बढावा दिन आग्रह गरे।
राज्यपालले कार्यक्रममा उपस्थित राज्यका कृषि मन्त्री र कृषि विश्वविद्यालयलाई स्थानीय फसलहरूमाथि केन्द्रित अनुसन्धान र प्रशिक्षण कार्यक्रम चलाउने आग्रह गरे। कार्यक्रममा राज्यपालले महाविद्यालय परिसरमा नवनिर्मित भवनहरूको उद्घाटन गरे भने वार्षिक जोनल कार्यशाला 2025 को विधिवत शुभारम्भ गरे। उनले प्रगतिशील कृषकहरूसॅंग अन्तरक्रिया पनि गरेका थिए।
कार्यक्रममा केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भर्चुअल माध्यमद्वारा भाग लिए। जन समूहलाई सम्बोधित गर्दै उनले पूर्वोत्तर भारतमा कृषि नवाचार, अनसन्धान र किसानहरूको सशक्तिकरणको दिशामा सरकारको प्रतिबद्धता दोहोऱ्याए।
हिन्दुस्थान समाचार / बिशाल