गान्तोक, 25 सेप्टेम्बर (हि.स.)। भारत सरकारको राष्ट्रिय साङ्ख्यिकी कार्यालय (एनएसओ), क्षेत्रीय परिचालन प्रभाग (एफओडी) साङ्ख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई) ले वर्ष 2025 सम्म राष्ट्रिय नमूना सर्वेक्षण (एनएसएस) को 75औँ वार्षिकोत्सव मनाइरहेको छ।
वर्षभरि चल्ने यी उत्सवहरूको एक भागको रूपमा राष्ट्रिय साङ्ख्यिकी कार्यालय, एफओडी, क्षेत्रीय कार्यालय, गान्तोकले 24 सेप्टेम्बर, 2025 मा गान्तोक जिल्ला अन्तर्गत लिङ्दुम गाउँमा एक ग्रामीण क्षेत्रमा सामुदायिक चर्चा तथा बिरुवा रोपन अभियान आयोजना गर्यो। उत्सवको एक भागको रूपमा यी गतिविधिहरू सेप्टेम्बरमा निर्धारित गरिएको थियो। उक्त जानकारी आज पीआईबीले दिएको छ।
कार्यक्रमको शुरुआत गर्दै एनएसओ, क्षेत्रीय कार्यालय गान्तोकका सहायक निर्देशक डीआर शर्माले सहभागीहरूलाई स्वागत जनाउनुका साथै मन्त्रालयका गतिविधिहरू र एनएसओद्वारा गरिएका सर्वेक्षणहरूको महत्त्वको संक्षिप्त विवरण प्रस्तुत गरे। उनले विभिन्न एनएसएस सर्वेक्षणहरूको उद्देश्य र शिक्षाविद् र शोधकर्ताहरूका लागि तिनीहरूको महत्त्व र सरकारी नीति र कार्यक्रमहरूलाई आकार दिनमा तिनीहरूको भूमिकामाथि प्रकाश पारे। शर्माले नागरिक र पञ्चायतलाई वास्तविक साङ्ख्यिकी उपलब्ध गराउन र आफ्नो इलाकामा सर्वेक्षण सञ्चालन गर्न एनएसएस अधिकारीहरूलाई सहयोग पुर्याउन आग्रह गरे।
वरिष्ठ साङ्ख्यिकी अधिकारी तेञ्जिन छोडेनले एनएसओद्वारा गरिएका ठूलो मात्राको सर्वेक्षणको बारेमा बताइन्, जसमा आवधिक श्रम शक्ति सर्वेक्षण, एएसयूएसई, सामाजिक-आर्थिक सर्वेक्षण र मूल्य सूचकाङ्क तयार गर्नका लागि विभिन्न बजारहरूबाट मूल्य सङ्कलन सामेल छन्।
वरिष्ठ साङ्ख्यिकी अधिकारी तुबाई दत्तले मन्त्रालयको सङ्गठनात्मक संरचना, विभिन्न प्रभागहरूको भूमिका र कार्य तथा साङ्ख्यिकी सङ्कलनको महत्त्वको बारेमा बताए। सहभागीहरूलाई सङ्गठनमा उपलब्ध विभिन्न पद, भर्ती प्रक्रिया, आवश्यक योग्यता र करियर प्रगतिको बारेमा पनि जानकारी गराइएको थियो।
आँगनवाडी कार्यकर्ता श्रीमती तारा राई र गैरसरकारी संस्था सीता पञ्चवती मैत्री शाखाको लिङ्गदुम सखाका सक्रिय सदस्य श्री गणेश शर्माले स्थानीय स्वयं सहायता समूह (एसएचजी) का सदस्यहरूसँगै कार्यक्रममा भाग लिएका थिए।
कार्यक्रमको समापन सड़क किनारमा बिरुवा रोपन अभियानसँगै भयो। आँगनवाड़ी कार्यकर्ता, स्थानीय स्वयं सहायता समूहका सदस्य र आरओ गान्तोकका अधिकारीहरूले फूल र सजावटी बिरुवा रोप्दै अभियानमा सक्रिय रूपमा भाग लिए।
स्थानीय स्वयं सहायता समूहका सदस्य र सीता पञ्चवती मैत्री सखा नामक एक गैरसरकारी संस्थानले आफ्नो गाउँमा यस्तो कार्यक्रम आयोजन गरेकोमा कृतज्ञता व्यक्त गरे र एनएसएस अधिकारीहरूद्वारा डेटा सङ्कलनका लागि आउँदा उनीहरूलाई सहयोग गर्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार / बिशाल