एसकेएम नारी शक्तिको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न
एसकेएम नारी शक्तिको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न


गान्तोक, 10 जनवरी (हि.स.)। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको नारी शक्ति नाम्ची जिल्लास्तरीय समन्वय बैठक आज नाम्चीस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न भयो। एसकेएम नारी शक्ति उपाध्यक्ष प्रभारी छिरिङ पाल्देन भोटियाको अध्यक्षतामा बसेको सभामा मन्त्री भोजराज राई, विधायक सतिशचन्द्र राई, एसकेएम नारी शक्ति अध्यक्षा बीना राई, उपाध्यक्ष सुनीता गजमेर, जिल्ला पञ्चायत अध्यक्ष अन्जिता राजालिम आदि उपस्थित थिए।

समन्वय बैठक आयोजन गर्नुको उद्देश्य संगठनात्मक समन्वय बढाउनु, एकता प्रवर्द्धन गर्नु र पार्टीभित्र महिला कार्यकर्ताहरूको प्रभावकारी संलग्नतालाई प्रवर्द्धन गर्नु रहेको एसकेएम प्रचार प्रसार अध्यक्ष रञ्जना प्रधानले आज प्रेस विज्ञप्तिमा बताएकी छन्।

सभाध्यक्ष भोटियाले आफ्नो सम्बोधनमा पार्टी कार्यकर्ताहरूलाई समर्पित बन्न तथा आफ्नो संगठनात्मक र सामाजिक जिम्मेवारीप्रति सक्रिय रहन आह्वान गरिन्। यसरी नै नारी शक्ति अध्यक्षा बीना राईले आफ्नो सम्बोधनमा वर्तमान सरकारद्वारा महिलाहरूका लागि लागू गरेका विभिन्न योजनाहरूमाथि प्रकाश पारिन्। उनले पार्टीमा अनुशासन, नैतिक आचरण, र सकारात्मक सामाजिक व्यवहारको महत्वमा जोड दिइन्।

मन्त्री राईले आफ्नो सम्बोधनमा शासन र सामाजिक प्रगतिमा महिलाहरूको महत्वपूर्ण योगदानलाई जोड दिँदै एसकेएम नारी शक्तिको प्रतिबद्धता र संगठनात्मक क्षमताको प्रशंसा गरे। बैठकमा विभिन्न निर्वाचन क्षेत्रका नारी संयोजकहरूले अनुभवहरू साझा गर्दै आफ्ना विचारहरू राखेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande