पश्चिम बंगालको चन्द्रकोणामा शुभेन्दु अधिकारीको काफिलामाथि हमला, विपक्षी नेता पुलिस चौकीमै धरनामा बसे
Suvendu Adhikari


कोलकाता, ११ जनवरी (हि.स.)। पश्चिम बंगाल विधानसभा विपक्षी नेता तथा नन्दीग्रामका विधायक शुभेन्दु अधिकारीको काफिलामाथि शनिबार राति भएको हमलापछि भारतीय जनता पार्टी (भाजपा) ले कडा प्रतिक्रिया जनाएको छ। भाजपाले यस घटनाको जिम्मेवारी सत्तारूढ़ तृणमूल कांग्रेसमाथि थोपेको छ र पुलिसको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएको छ। विपक्षी नेताको काफिलामाथि पश्चिम मिदनापुर जिल्लाको चन्द्रकोणा रोड क्षेत्रमा हमला गरिएको हो।

शनिबार साँझ शुभेन्दु अधिकारी पुरुलियामा आयोजना गरिएको पूर्वनिर्धारित जनसभालाई सम्बोधन गरेर फर्कँदै थिए। राति लगभग ८:२० बजी उनको काफिला चन्द्रकोणा रोड बजार क्षेत्रको चोक नजिक पुगेको बेला कथित रूपमा तृणमूल कांग्रेस समर्थकहरूको एक समूहले काफिलाको बाटो रोकेको बताइएको छ। यससम्बन्धी सार्वजनिक भएको एक भिडियोमा शुभेन्दु अधिकारीले दाबी गरेका छन्, एक समुदायका आक्रमणकारीहरूले लाठ्ठी, डण्डा र फलामका रड प्रयोग गरी काफिलाका सवारीसाधनमाथि हमला गरे। उनले सो क्रममा पुलिस मूकदर्शक बनेको आरोप लगाएका छन्। केन्द्रिय सुरक्षा बलले समयमै हस्तक्षेप नगरेको भए अवस्था झन गम्भीर हुन सक्थ्यो भन्ने उनको दाबी छ।

घटनाको विरोधमा विपक्षी नेता चन्द्रकोणा रोड पुलिस चौकी पुगेका थिए र त्यहाँ धरनामा बसे। उनले दोषीहरूमाथि एफआईआर दर्ता गरी उनीहरूको पक्राउ नभएसम्म पुलिस चौकी नछाड्ने अडान व्यक्त गरे। अधिकारीले औपचारिक उजुरी मात्र होइन, एफआईआर नम्बर र लगाइएका धाराहरूको पूर्ण विवरण प्राप्त भएपछि मात्र हस्ताक्षर गर्ने बताए।

केन्द्रिय शिक्षा राज्यमन्त्री तथा पश्चिम बंगाल भाजपा अध्यक्ष डा. सुकान्त मजूमदारले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै यो हमला पूर्व नियोजित र राज्य प्रायोजित भएको आरोप लगाए। उनले यसलाई पुलिस निष्क्रियताको खुला उदाहरण भएको बताउँदै राज्यमा विपक्षी नेता र निर्वाचित जनप्रतिनिधिहरू सुरक्षित नरहेको टिप्पणी गरे। डा. मजूमदारले मुख्यमन्त्री ममता ब्यानर्जी र राज्य पुलिसमाथि लोकतान्त्रिक मूल्यहरू कुण्ठित गरेको आरोप समेत लगाए।

तृणमूल कांग्रेसले यी आरोपहरू अस्वीकार गरेको छ। पार्टीले यो घटना जनआक्रोशको परिणाम भएको दाबी गरेको छ। घटनाबारे पुलिसले अनुसन्धान भइरहेको जनाउँदै उपलब्ध प्रमाणका आधारमा आगामी कारबाही गरिने बताएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande