
खरसाङ, 14 जनवरी (हि.स.)। 58 वर्षभन्दा माथिका चिया बगान श्रमिकहरूलाई पेन्सन लाभको अनुरोध गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले पश्चिम बंगालको श्रम विभागका मन्त्रीलाई पत्राचार गरेका छन्। उनले यस पत्रमा बन्द भएका चिया बगानका श्रमिकहरूको कल्याण सम्बन्धी मुद्दा मन्त्रीको ध्यानमा ल्याएका छन्।
उनले भनेका छन्, फौलाई (असंगठित श्रमिक तथा मजदुरहरूको वृद्धावस्था आयको लागि आर्थिक सहायता योजना) अहिलेसम्म 58 वर्षसम्मका श्रमिकहरूको लागि जीवनरेखा रहेको छ। तर, यो उमेर सीमा नाघेपछि उनीहरू कुनै पनि लाभबाट वञ्चित हुन्छन् भनी जनाकारी गराएका छन्। जीटीए प्रमुखले चिया उद्योगमा आफ्नो जीवन समर्पित गरेका यी बगान श्रमिकहरूलाई पेन्सन लाभ विस्तार गर्न अनुरोध गरेका छन्।
धेरै श्रमिकहरूले दशकौंसम्म चिया उद्योगको वृद्धि र समृद्धिमा योगदान गरेका छन्, तर वृद्धावस्थामा उनीहरू कुनै सुरक्षाघेरा बिना नै छोडिन्छन् भन्दै उनले सरकारलाई यी श्रमिकहरूलाई गरिमापूर्ण र सुरक्षित आय प्रदान गर्न एक पेन्सन योजना कार्यान्वयन गर्न विचार गर्न अनुरोध गरेका छन्। उनले यो सामाजिक सुरक्षातर्फ एक महत्वपूर्ण कदम हुनेछ साथै राज्यको अर्थतन्त्रमा उनीहरूले गरेको अमूल्य योगदानको पहिचान पनि हुनेछ भनी बताएका छन्।
अनित थापाले एक विज्ञप्ति जारी गर्दै चिया श्रमिकहरुको हितको निम्ति कार्य गर्न बीजीपीएम कटिबद्ध रहेको बताएका छन्। जीटीए सभाका डेपुटी चियरम्यान राजेश चौहानले मन्त्रीलाई भेट गरी अनुरोध पत्र चढाएको पनि उनले बताएका छन्। यस पत्रको जवाफमा मन्त्रीले सकारात्मक विचार राखेको उनले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक