पाकिस्तान: कराचीको सपिङ प्लाजामा आगलागी, मृतकहरूको संख्या ६१ पुग्यो
शपिङ मल


इस्लामाबाद, २२ जनवरी (हि.स.)। पाकिस्तानको कराचीस्थित एमए जिन्ना रोडमा रहेको गुल शपिङ प्लाजामा भएको भीषण आगलागीमा मृत्यु हुनेहरूको संख्या ६१ पुगेको छ। अधिकारीहरूले बुधबार यसबारे पुष्टि गरेका छन्। उद्धार टोलीले भवनभित्र एउटै दोकानबाट ३० शव फेला पारेको छ।

‘दुनिया न्यूज’ को रिपोर्टअनुसार, दक्षिण क्षेत्रका पुलिस उपमहानिरीक्षक असद रजाले ती शवहरू एक क्रकरी दोकानभित्र फेला परेको जानकारी दिएका छन्। उनका अनुसार, आगलागीपछि धुवाँ र आगोबाट बच्न खोज्दा धेरै व्यक्तिहरू दोकानभित्रै थुनिन पुगे, जसका कारण उनीहरूको ज्यान गएको देखिन्छ।

दक्षिण जिल्लाका उपायुक्त जावेद नबी खोसोले रेस्क्यू ११२२ लाई प्लाजाभित्र अन्तिम खोज तथा उद्धार अभियान सञ्चालन गर्न निर्देशन दिइएको बताए। अभियान सम्पन्न भएपछि जर्जर बनेको भवन भत्काइनेछ। भवन भत्काउने जिम्मेवारी सिन्ध बिल्डिङ कन्ट्रोल अथोरिटीलाई दिइएको छ। अधिकारीहरूका अनुसार, प्लाजाको ४० प्रतिशतभन्दा बढी भाग पहिले नै ढलेको छ। उद्धार टोलीले प्लाजाको छतबाट ३२ वटा सवारी साधन र थुप्रै ठूला जेनेरेटरहरू हटाइसकेको छ। सुरक्षाका दृष्टिले नजिकैको रामपा प्लाजालाई अस्थायी रूपमा सिल गरिएको छ। साथै, छेउछाउका भवनहरूमा सम्भावित जोखिमको मूल्याङ्कन गर्न प्रधिकरणबाट भवनको नक्सा तथा सम्बन्धित कागजातहरू माग गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande