
गान्तोक, 05 जनवरी (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम अन्तर्गत पूर्व कर्मचारी परिषदले आज रम्फूस्थित पार्टी कार्यालयमा एक महत्वपूर्ण समन्वय बैठक सम्पन्न भयो। बैठकमा परिषदका उपाध्यक्ष (प्रभारी) दिपेन्द्र राई, महिला परिषदकी उपाध्यक्ष (प्रभारी) सुमति छेत्री, पूर्व कर्मचारी परिषदका संयोजक गोपी चौहानलगायत विभिन्न पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकको मुख्य उद्देश्य संगठनलाई अझ सुदृढ बनाउनु, परिषदको भूमिका स्पष्ट गर्नु तथा भावी कार्यदिशा तय गर्नु रहेको थियो। छलफलका क्रममा संगठन विस्तारमा पूर्व कर्मचारी परिषदको जिम्मेवारी, अनुभवको सदुपयोग तथा जनमुखी कार्यक्रमहरूमा सक्रिय सहभागिताबारे गहन विचार–विमर्श गरियो।
सभालाई सम्बोधन गर्दै उपाध्यक्ष (प्रभारी) दिपेन्द्र राईले पूर्व कर्मचारी परिषद पार्टीको अनुभवी र परिपक्व अंग भएको उल्लेख गर्दै यस परिषदले पार्टी र राज्यप्रति अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए। लामो समयसम्म विभिन्न विभागमा रहेर प्राप्त अनुभवलाई अब राज्यको समग्र विकास र युवा पुस्ताको मार्गदर्शनमा प्रयोग गर्नुपर्ने समय आएको उनले बताए।
महिला परिषदकी उपाध्यक्ष (प्रभारी) सुमति छेत्रीले पार्टीभित्र प्रत्येक सदस्यको योगदानको महत्वमाथि प्रकाश पार्दै निष्ठा, समर्पण र सक्रियताका आधारमा सबैको मूल्यांकन गरिने विश्वास व्यक्त गरिन्।
पूर्व कर्मचारी परिषदका संयोजक गोपी चौहानले पार्टीको आउँदो चौथो स्थापना दिवसलाई सफल र अर्थपूर्ण बनाउन परिषदले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै सदस्यहरूलाई एकताबद्ध भएर काम गर्न आह्वान गरे।
बैठकमा पार्टीको चौथो वर्षगाँठलाई लक्षित कार्यक्रमहरू, संगठन विस्तारसम्बन्धी कार्ययोजना तथा परिषदको आन्तरिक संरचनाबारे छलफल गरी नयाँ समितिका पदाधिकारीहरूको चयन गरिएको विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल