
गान्तोक, 01 अक्टूबर (हि.स.)। नेपाली स्वदेशी चलचित्र महोत्सवको अवसरमा सिक्किमका संस्कृति तथा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेको नेतृत्वमा सिक्किम प्रतिनिधिमण्डलले लन्डनस्थित ब्रिटिस म्युजियमको अवलोकन भ्रमण गरेको छ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले सांस्कृतिक सम्पदाको संरक्षण, दस्तावेजीकरण, संवर्द्धन तथा प्रस्तुतीकरणसम्बन्धी अन्तरराष्ट्रिय अभ्यासबारे जानकारी लिने अवसर पाएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रतिनिधिमण्डलले ब्रिटिस म्युजियममा रहेका विविध सङ्ग्रहहरूको अवलोकन गर्दै इतिहास र सांस्कृतिक पहिचानलाई भावी पुस्ताका लागि सुरक्षित राख्न सङ्ग्रहालय तथा अभिलेखालयको भूमिकाबारे जानकारी प्राप्त गरेको बताइएको छ। सिक्किमले आफ्नो समृद्ध सांस्कृतिक सम्पदा, परम्परा, ऐतिहासिक अभिलेख तथा आदिवासी ज्ञानको दस्तावेजीकरण र संरक्षणका लागि गरिरहेको प्रयासका दृष्टिले यो भ्रमण विशेष महत्त्वपूर्ण रहेको बताइएको छ।
प्रतिनिधिमण्डलमा सिक्किम फिल्म बोर्डका अध्यक्ष टाशी छिरिङ भोटिया, सिक्किम कला, संस्कृति तथा सम्पदा विकास बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई तथा बोर्ड सदस्य थुप्देन रिन्जिङ भोटियाको सहभागिता रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल