
गान्तोक, 10 अक्टोबर (हि.स.)। सिक्किम पर्यटन विकास निगम (एसटीडीसी) ले शुक्रवार राजधानी गान्तोकस्थित एउटा होटलमा आफ्ना नवनियुक्त तथा पुनर्गठित बोर्ड सदस्यहरूको सहभागितामा 21औँ बोर्ड बैठक आयोजना गरेको छ।
बैठकमा एसटीडीसी अध्यक्ष लुकेन्द्र रसाइली, एसटीडीसीका प्रधान मुख्य कार्यकारी अधिकृत ग्युर्मी योसल, पर्यटन तथा नागरिक उड्डयन विभागकी विशेष सचिव डा. प्रेरणा चामलिङसहित अन्यको उपस्थिति रहेको थियो।
बैठकमा विभिन्न विषयमाथि छलफल गरियो। वित्तीय विवरणहरूको अनुमोदनः सन् 2017-18 देखि 2025-26 सम्मका नौ आर्थिक वर्षको निगमको वित्तीय विवरणमाथि विचार-विमर्श र अनुमोदन।
एसटीडीसीका गतिविधिहरूको समीक्षाः कैलाश मानसरोवर यात्रा (केएमवाई) सफलतापूर्वक सम्पन्न भएको विषयलगायत यसबीचको अवधिमा निगमद्वारा सञ्चालित गतिविधिहरूको समीक्षा।
संस्वीकृत कार्मिक सङ्ख्यामा संशोधनः निगमको कार्यसञ्चालन आवश्यकताअनुरूप कर्मचारीहरूको स्वीकृत दरबन्दीमा संशोधन गर्ने प्रस्तावमाथि छलफल।
अघिल्ला निर्णयहरूको पुष्टिः यसअवधि गरिएका निर्णयहरूको समीक्षा तथा पुष्टि।
असुली तथा अपलेखनः बाँकी बक्यौता असुलीका उपायहरू र उपयुक्त देखिएका खण्डमा रकम अपलेखन गर्ने विषयमा छलफल।
अधिकार प्रत्यायोजनको समीक्षाः निगमको कार्यसञ्चालन सुचारु, प्रभावकारी र समयमै हुने सुनिश्चित गर्न विद्यमान अधिकार प्रत्यायोजनको समीक्षा।
पञ्जीकृत ट्राभल एजेन्टहरूको सूचीकरणः सिक्किममा पञ्जीकरण भएका ट्राभल एजेन्टहरूसँगको साझेदारीमार्फत एसटीडीएसको व्यावसायिक अवसरहरू अभिवृद्धि गर्ने प्रस्तावहरूमाथि छलफल।
---------------
हिन्दुस्थान समाचार / बिशाल