
खरसाङ, १७ अक्टोबर (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर दुईको टेकबीर बस्तीस्थित प्रगति संघले गाउँको सडक किनारका प्यारापेटमा सेतो सिमेन्ट लगाउने तथा झोडा र नाली सफा गर्ने सामाजिक अभियान सम्पन्न गरेको छ।
वर्षाका कारण सडक किनारका प्यारापेटमा लेउ जमेर फोहोर देखिनुका साथै ती स्पष्ट रूपमा नदेखिने हुँदा सवारी आवागमनमा असुविधा र दुर्घटनाको जोखिम बढेको थियो। गाउँको सुन्दरीकरण तथा सम्भावित दुर्घटना रोकथाम गर्ने उद्देश्यले संघका प्रतिनिधि र सदस्यहरूले आर्थिक सहयोग जुटाएर उक्त कार्य सम्पन्न गरेका हुन्।
अभियानमा संघका सभापति सुजय गुरुङ, उपसभापति जन बस्को राई, मूल सचिव बिरबल पाखरीन, सहसचिव समिर गुरुङ, कोषाध्यक्ष रमोद गुरुङ, सहकोषाध्यक्ष भिमु तामाङ, सामान प्रभारी सन्जित गुरुङ, प्रमुख सल्लाहकार रामु राउतलगायत कार्यकारिणी समिति तथा सदस्यहरूको सहभागिता रहेको थियो।
यसका साथै आउँदै गरेको बडा दशैं तथा तिहारको शुभकामना सन्देशसहितको फ्लेक्स पनि राखिएको छ। गाउँलाई स्वच्छ, सुन्दर र रमणीय राख्नु नै यस अभियानको मुख्य उद्देश्य रहेको संघका मूल सचिव बिरबल पाखरीनले जानकारी दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक