मङ्पूमा सिन्कोना श्रमिकहरूबीच नौलो तथा सिर्जनात्मक प्रतियोगिता सम्पन्न
मङपु विभागमा सिन्कोना श्रमिकहरूबीच विविध कार्यसम्बन्धी प्रतियोगिता सम्पन्न


मङ्पू, १७ अक्टोबर (हि.स.)। मङ्पू सिन्कोना विभागीय खेलकुद एवं सांस्कृतिक समितिको आयोजनामा सिन्कोना श्रमिकहरूले बगानमा दैनिक रूपमा गर्दै आएका कामहरूलाई समेटेर नौलो तथा सिर्जनात्मक प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिन्कोना तथा अन्य औषधीय बिरुवाका निर्देशक डा. शमूयल राई र विशिष्ट अतिथिका रूपमा मङ्पूका व्यवस्थापक गोपाल लामिछाने उपस्थित थिए। कार्यक्रमको सभापतित्व दिशान फिपनले गरेका थिए।

चपरासी बीरेन गोलेले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्वागत नृत्यसमेत प्रस्तुत गरिएको थियो। प्रतियोगिताअन्तर्गत बिरुवा रोप्नका लागि बेड तयार गर्ने, एपिकेक रोप्ने, थली खन्ने, कलमीकरण, चोया काट्ने, शिल्पकला, प्रश्नोत्तरी, म्युजिकल चेयर, नृत्य, सन्तुलन दौड तथा डोरी तान्नेलगायत गतिविधि सञ्चालन गरिएका थिए। यसका साथै सेक्सन बी र सेक्सन सीबीच लातेभकुण्डोको फाइनल प्रतियोगिता पनि सम्पन्न भयो।

प्रमुख अतिथि डा. राईले सम्बोधन गर्दै यस सिर्जनात्मक पहलप्रति खुशी व्यक्त गरे। चपरासी बीरेन गोलेको सिर्जनात्मक सोच तथा ग्याङमेन आईबी मोहरा, कर्मचारी, चौकीदार र सिन्कोना श्रमिकहरूको आपसी सहकार्यका कारण कार्यक्रम सफल भएको आयोजकले जनाएको छ।

सिन्कोना बगानका श्रमिकहरूले दैनिक रूपमा गर्दै आएका कामलाई प्रतियोगितात्मक तथा मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरी उनीहरूको सीप, अनुभव र कार्यदक्षतालाई उजागर गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। यस पहलमार्फत मङ्पू विभागले नौलो तथा सिर्जनात्मक कार्यक्रम आयोजना गर्न सफल भएको आयोजक पक्षले जनाएको छ। कार्यक्रमको सञ्चालन ज्ञानदीप चामलिङ राईले गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande