
रियाद, २२ अक्टोबर (हि.स.)। साउदी अरबको पूर्वी प्रान्तस्थित किङ फहद अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार राति भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले घटनाको पुष्टि गरेको छ।
टर्कीको सरकारी समाचार संस्था अनाडोलुले प्राधिकरणलाई उद्धृत गर्दै जनाएअनुसार, सबै घाइतेलाई तत्काल अस्पताल पुर्याइएको छ। घाइतेमध्ये केहीलाई सामान्य चोट लागेको छ भने केहीको अवस्था गम्भीर रहेको छ। आक्रमणका कारण भौतिक सम्पत्तिमा समेत क्षति पुगेको छ, जसको मूल्याङ्कन भइरहेको छ। अधिकारीहरूले घटनासम्बन्धी थप विवरण पछि सार्वजनिक गरिने बताएका छन्। यद्यपि, आक्रमणको प्रकृतिबारे हालसम्म कुनै जानकारी दिइएको छैन।
यसैबीच, साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले बुधबार देशतर्फ पठाइएका पाँचवटा ड्रोनलाई रोकेर नष्ट गरेको दाबी गरेको छ। तीमध्ये पूर्वी प्रान्त र मदिना क्षेत्रतर्फ पठाइएका विमानसमेत रहेका थिए।
यसअघि अक्टोबर ११ मा पनि किङ फहद अन्तरराष्ट्रिय विमानस्थलमा आक्रमण भएको थियो। उक्त घटनापछि अधिकारीहरूले क्षतिको मूल्याङ्कन गर्नुका साथै सुरक्षा जाँचसमेत गरेका थिए।
यमनको हूती समूह र साउदी अरब नेतृत्वको गठबन्धनबीच बढ्दो तनावका बीच यी घटनाहरू भएका हुन्। यस अवधिमा साउदी अरबका विमानस्थल तथा ऊर्जा प्रतिष्ठानलाई लक्ष्य बनाएर विभिन्न आक्रमण भएका खबरहरू सार्वजनिक भएका छन्।
दम्माम विमानस्थलमा भएको पछिल्लो आक्रमणपछि अधिकारीहरू क्षतिको मूल्याङ्कन तथा घटनासँग सम्बन्धित परिस्थितिको अनुसन्धानमा जुटेका छन्। आक्रमण कसले गरेको हो र कुन तरिकाले गराइएको हो भन्ने विषयमा हालसम्म आधिकारिक पुष्टि भएको छैन।
हिन्दुस्थान समाचार / बिशाल