
नयाँ दिल्ली, २५ अक्टोबर (हि.स.)। केन्द्रिय गृह तथा सहकारितामन्त्री अमित शाहले केन्द्रिय जांच निकायहरू तथा असम, मिजोरम र मणिपुरका पुलिस बलको संयुक्त सफल अभियानको प्रशंसा गर्दै अन्तरराष्ट्रिय सीमाको फाइदा उठाएर भारतका युवापुस्तालाई हानि पुर्याउने कुनै पनि गिरोहलाई नछाड्ने कडा सन्देश दिएका छन्।
अमित शाहले आज सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “केन्द्रको मोदी सरकारले लागुऔषध तथा अवैध सञ्जालविरुद्ध आफ्नो ‘शून्य सहनशीलता’ नीतिअन्तर्गत ‘अपरेसन ट्राइडेन्ट’ सञ्चालन गरेर अन्तरराष्ट्रिय लागुऔषध तस्कर गिरोहलाई ठूलो झट्का दिएको छ। २३ अक्टोबरमा केन्द्रिय सुरक्षा निकाय र राज्य पुलिस बलको संयुक्त अभियानअन्तर्गत असम, मिजोरम र मणिपुरका ३८ वटा विभिन्न स्थानमा एकैसाथ व्यापक छापा मारिएको थियो। यस कारबाहीमा तस्कर गिरोहको सम्पूर्ण सञ्जाल ध्वस्त पारिएको छ।
‘अपरेसन ट्राइडेन्ट’ का क्रममा जांच निकायहरूले थुप्रै चकित पार्ने प्रमाण फेला पारेका छन्। करिब १०० करोड रुपियाँ बराबरको हवाला कारोबारबारे जानकारी प्राप्त भएको छ। यस सञ्जालसँग सम्बन्धित १,४२४ वटा ब्याङ्क खाता तत्काल प्रभावबाट फ्रीज गरिएका छन् भने १७.८२ करोड रुपियाँ मूल्यको सम्पत्ति जफत गरिएको छ। छापामारीका क्रममा ५०० वटा विस्फोटक उपकरणमा प्रयोग हुने डेटोनेटर र १२ लाख रुपियाँ नगद बरामद गरिएको छ। यस मामिलामा संलग्न १८ जना मुख्य आरोपीलाई पक्राउ गरिएको छ।”
जांच अधिकारीहरूका अनुसार, यो अन्तरराष्ट्रिय लागुऔषध तस्करी सञ्जालले ‘डेथ ट्रायङ्गल करिडोर’ को प्रयोग गर्दै भारत, म्यानमार र बङ्गलादेशका अन्तरराष्ट्रिय सीमामार्फत लागुऔषधको अवैध तस्करी गरिरहेको थियो।
यो समन्वित कारबाही सन् २०२९ दिसम्बर ३१ सम्ममा देशबाट लागुऔषधको सम्पूर्ण सञ्जाललाई जरैदेखि समाप्त पार्ने भारत सरकारको दृढ सङ्कल्पको एक हिस्सा हो।
सरकारको स्पष्ट सन्देश छ-लागुऔषध तस्कर गिरोहको पूर्ण रूपमा अन्त्य नभएसम्म यस्ता कडा कारबाही जारी रहनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी