प्रधानमन्त्री मोदीद्वारा किसानको खातामा १९ हजार करोड़ रुपियाँ हस्तान्तरण, पशु अनुसन्धान केन्द्र राष्ट्रलाई समर्पित
प्रधानमंत्री नरेंद्र मोदी जनता को सम्बोधित करते हुए


अहमदाबाद, ३० अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार आफ्नो दुईदिने गुजरात भ्रमणको पहिलो दिन बनासकाँठा जिल्लाको भीलड़ीमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन तथा शिलान्यास गरे। यस क्रममा उनले रोड शो गर्नुका साथै पशुपालक महिलाहरूसँग संवाद पनि गरे। प्रधानमन्त्रीले प्रधानमन्त्री किसान सम्मान निधि योजनाको २४औँ किस्ता अन्तर्गत देशभरिका किसानहरूको ब्यांक खातामा लगभग १९ हजार करोड़ रुपियाँ हस्तान्तरण गरे।

प्रधानमन्त्री बिहान डीसा विमानस्थल पुगे। त्यहाँबाट उनी भीलड़ीका लागि प्रस्थान गरे। भीलड़ीमा उनको स्वागतका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भए। रोड शोका क्रममा मानिसहरूले नारा लगाउँदै उनको स्वागत गरे। त्यसपछि प्रधानमन्त्रीले पशुपालक महिलाहरूसँग संवाद गरी उनीहरूका कुरा सुने।

१२७ एकड़मा निर्मित पशु अनुसन्धान केन्द्रको उद्घाटन

प्रधानमन्त्रीले बनासकाँठाको भीलड़ीमा १२७ एकड़ क्षेत्रफलमा विकसित भारत बोभाइन ब्रीडिङ एन्ड रिसर्च सेन्टर (बीबीबीआरसी) राष्ट्रलाई समर्पित गरे। यस आधुनिक केन्द्रमा गाईभैँसीको नस्ल सुधार, आनुवंशिक विकास तथा आधुनिक प्रजनन प्रविधिमा काम गरिनेछ। यसको उद्देश्य पशुहरूको नस्ल सुधार प्रक्रियालाई १० देखि २० गुणासम्म तीव्र बनाउनु हो। यो केन्द्र विशेषगरी काँकरेज नस्लका गाईहरूको संरक्षण तथा संवर्द्धनका लागि विकसित गरिएको हो।

प्रधानमन्त्रीले केन्द्रमा स्थापित आधुनिक ईटी–आईभीएफ प्रयोगशालाको पनि निरीक्षण गरे। यस क्रममा उनले बनासकाँठा सैनिक विद्यालयका विद्यार्थी, पशुपालक महिला तथा स्थानीय युवाहरूसँग कुराकानी गरे।

दुईवटा बायो–सीएनजी संयन्त्रको शिलान्यास

बनास डेरीद्वारा थराद र राधनपुरमा स्थापना गरिने दुईवटा बायो–सीएनजी संयन्त्रको पनि शिलान्यास गरिएको छ। यी संयन्त्रहरूमा प्रतिदिन क्रमशः ७५ र १०० मेट्रिक टन पशुको गोबर प्रशोधन गर्न सकिनेछ। यसबाट गोबरलाई ऊर्जा उत्पादनमा उपयोग गरिनेछ। परियोजनाले स्वच्छ ऊर्जालाई प्रोत्साहन गर्नुका साथै पशुपालकहरूका लागि गोबरको उपयोगिता र आर्थिक मूल्य बढ़ाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

आलु उत्पादक किसानहरू लाभान्वित हुने

कार्यक्रममा आलु प्रशोधन सम्बन्धी व्यवस्थालाई पनि प्रोत्साहन गर्ने विषयमा जोड दिइयो। यस परियोजना अन्तर्गत प्रमाणित बीउदेखि आलु प्रशोधनसम्मको प्रक्रियालाई एकीकृत गरिएको छ। यसबाट किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउनुका साथै खरिद प्रक्रियामा राम्रो सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रशोधनका क्रममा निस्कने फोहोरलाई बायोग्यास उत्पादनमा प्रयोग गरिनेछ भने बाँकी अवशेष किसानहरूलाई जैविक मलका रूपमा उपलब्ध गराइनेछ। आलु प्रशोधनलाई प्रोत्साहन गर्नु, किसानहरूको आय बढ़ाउनु तथा मूल्य अभिवृद्धि गरिएका आलुजन्य उत्पादनको निर्यातलाई प्रोत्साहित गर्नु यस परियोजनाको उद्देश्य रहेको छ।

प्रधानमन्त्रीले आफ्नो गुजरात भ्रमणका क्रममा राज्यमा १४ हजार करोड़ रुपियाँभन्दा बढ़ीका विकास परियोजनाहरूको उद्घाटन तथा शिलान्यास पनि गरिरहेका छन्। यस बाहेक दुईवटा नयाँ यात्रुवाहक रेललाई हरियो झन्डा देखाएर प्रस्थान गराइएको छ।

किसानहरूका लागि आयोजित विशाल खाटला सभाको उल्लेख गर्दै प्रधानमन्त्रीले कार्यक्रममा यति ठूलो सङ्ख्यामा मानिसहरूको सहभागिता विश्वमा यसअघि कहिल्यै नभएको हुनसक्ने बताए। उनले यसलाई गिनिज रेकर्ड सरह रहेको उल्लेख गरे।

प्रधानमन्त्री मोदीले ३१ अक्टोबरमा राष्ट्रिय एकता दिवसका कार्यक्रमहरूमा पनि सहभागिता जनाउनेछन्।

/ बिशाल


 rajesh pande