
गुवाहाटी (असम), १४ नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले काजिरङ्गाको रङ्गाजानमा भएको भीषण सड़क दुर्घटनामा ज्यान गुमाएका २६ जनाका परिवारलाई नौ-नौ लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्। मुख्यमन्त्रीले शनिवार दुर्घटनास्थलको निरीक्षण गरेपछि उक्त घोषणा गरेका हुन्।
मुख्यमन्त्रीले प्रत्येक मृतकका परिवारलाई मुख्यमन्त्री राहत कोषबाट पाँच लाख रुपियाँ र राजस्व विभागका तर्फबाट दुई लाख रुपियाँ प्रदान गरिने बताए। यस बाहेक प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै घोषणा गरेको दुई लाख रुपियाँको सहायता पनि उपलब्ध हुनेछ। यसरी प्रत्येक मृतकका परिवारले कूल नौ लाख रुपियाँ प्राप्त गर्नेछन्।
डा. शर्माले दुर्घटना कुन परिस्थितिमा भयो र त्यसका पछाड़ी के कारण थिए भन्ने विषयमा विस्तृत अनुसन्धान गराइने बताए। उनले दुर्घटनामा घाइते भएकाहरूको उपचार तथा उनीहरूलाई हरसम्भव सहायता उपलब्ध गराउने आश्वासन पनि दिए।
मुख्यमन्त्रीले सड़क दुर्घटना नियन्त्रण गर्न यातायात नियमहरूको कड़ाइका साथ पालना गराउनु आवश्यक रहेको बताए। उनले जनताको असन्तुष्टिका कारण यसअघि यातायात नियमको कार्यान्वयनमा केही खकुलोपन अपनाइएको भए पनि पछिल्ला दिनहरूमा राज्यमा धेरै गम्भीर सड़क दुर्घटना भएका छन्। यसलाई ध्यानमा राख्दै सरकारले अब यातायात नियमहरू पुनः कड़ाइका साथ लागू गर्ने उनले बताए।
उनले दुर्घटनाका सबै पक्षको अनुसन्धान गरिने र भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक कदम चालिने जानकारी दिए।
हिन्दुस्थान समाचार / भवानी थामी