
नयाँ दिल्ली, १४ नोभेम्बर (हि.स.)। केन्द्रिय पर्यावरण मन्त्री भूपेन्द्र यादवले दिल्ली-एनसीआरमा वायु प्रदूषण नियन्त्रण गर्न प्रदूषण फैलाउने १९१ वटा उद्योग तत्काल सिल गर्न निर्देश दिएका छन्। उनले आगामी ३० नोभेम्बरसम्म एएनपीआर क्यामेरा जड़ान नगरे सम्बन्धित परिवहन विभागका अधिकारीहरू विरुद्ध आपराधिक कारबाही गरिने चेतावनी दिएका छन्।
केन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले शनिवार दिल्ली, हरियाणा, उत्तर प्रदेश र राजस्थानमा प्रदूषण नियन्त्रणका उपायहरूको समीक्षा गरेको थियो। यस क्रममा यादवले राज्यहरूलाई योजनामा मात्र सीमित नभई निर्धारित समयभित्र समन्वयात्मक रूपमा जमीनी स्तरमा काम गर्न निर्देश दिए।
बैठकमा हरियाणाका सात, उत्तर प्रदेशका चार र राजस्थानका चार शहरका लागि सचिवस्तरका अधिकारीहरूलाई जिम्मेवारी सुम्पन भनिएको छ। ती अधिकारीहरूले स्थलगत निरीक्षण गरी प्रत्येक साता वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) लाई प्रतिवेदन बुझाउनेछन्। आयोगलाई काममा लापरबाही गर्ने अधिकारीहरूलाई नोटिस जारी गर्न पनि भनिएको छ।
केन्द्रिय मन्त्री भूपेन्द्र यादवले केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डलाई वायु प्रदूषण नियन्त्रण उपकरण जड़ान गर्न अहिलेसम्म आदेश समेत जारी नगरेका १९१ वटा उद्योग तत्काल सिल गर्न निर्देश दिए। उनले ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जीआरएपी) तथा शीतकालीन कार्ययोजनाहरू कड़ाइका साथ कार्यान्वयन गर्न पनि निर्देश दिए।
उनले सड़कको धुलो नियन्त्रण अन्तर्गत ५ हजार ४८० किलोमिटर सड़क नवीकरण गर्ने लक्ष्यको तुलनामा हालसम्म ३ हजार २२१ किलोमिटर सड़कको काम पूरा भएको बताए। उनले सड़क सफाइ गर्ने मेसिनहरू दुई सिफ्टमा सञ्चालन गर्न, एनसीआरका २३३ वटा ट्राफिक जाम हुने स्थानमा सुधारात्मक कदम चाल्न तथा दिल्लीको सीमामा रहेका १५४ प्रवेश बिन्दुमा आगामी ३१ दिसम्बरसम्म मल्टीलेन फ्रि फ्लो प्रणाली जड़ान गर्न निर्देश दिए।
सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रण गर्न साल २०२८ सम्म पुराना ट्रक र बसहरूलाई बीएस–६, सीएनजी तथा विद्युतीय सवारीसाधनले प्रतिस्थापन गर्ने योजनालाई तीव्रता दिन पनि भनिएको छ। औद्योगिक प्रदूषणका सम्बन्धमा लक्षित २ हजार ३४५ उद्योगमध्ये २ हजार २९८ उद्योगलाई अनलाइन उत्सर्जन निगरानी प्रणालीसँग जोड़िसकिएको जानकारी दिइयो। बाँकी ४७ वटा उद्योग बन्द वा सिल गरिएका छन्।
उनले नगर निकायहरूलाई ठोस फोहोर प्रशोधन क्षमतामा दैनिक ६ हजार ७४७ टनको कमी पूरा गर्न, खुला स्थानमा फोहोर जलाउन रोक लगाउन तथा ओखला, गाजीपुर, भलस्वा र बन्धवारीमा थुप्रिएको पुरानो फोहोर व्यवस्थापनको काम तीव्र बनाउन निर्देश दिए।
यसका साथै प्रमुख सहरहरूमा प्रदूषणका हटस्पट पहिचान गरी तिनका लागि छुट्टै कार्ययोजना तयार गर्न तथा निगरानीका लागि प्रविधिको प्रयोग बढ़िउन पनि उनले निर्देश दिए।
हिन्दुस्थान समाचार / भवानी थामी