
गान्तोक, ०२ नोभेम्बर (हि.स.)। सिक्किमको विभिन्न निर्वाचन क्षेत्रका सात जना युवा सोमबार भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन्। गान्तोकस्थित पार्टीको सिटी कार्यालयमा आयोजित कार्यक्रममा उनीहरू औपचारिक रूपमा भाजपामा सामेल भएका हुन्। प्रदेश भाजपा अध्यक्ष डीआर थापाले पार्टीका अन्य पदाधिकारीहरूको उपस्थितिमा नवप्रवेशी युवाहरूलाई पार्टीमा स्वागत गरे। प्रधानमन्त्री नरेन्द्र मोदी तथा राज्य नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उनीहरूले पार्टीको विचारधारा, सिद्धान्त र उद्देश्यअनुरूप काम गर्ने प्रतिबद्धता जनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ।नवप्रवेशी युवाहरूसँगको अन्तरक्रियाका क्रममा प्रदेश अध्यक्ष थापाले मोदी सरकारले युवाहरूको सीप विकास, उद्यमशीलता, रोजगारी सिर्जना तथा आत्मनिर्भरता प्रवर्द्धनका लागि सञ्चालन गरेका विभिन्न योजना र पहलहरूबारे जानकारी गराए। उनले युवाहरूलाई उपलब्ध अवसरहरूको लाभ उठाउँदै आत्मनिर्भर बन्न तथा समाज र राष्ट्रको विकासमा योगदान पुर्याउन प्रोत्साहित गरे।
विभिन्न निर्वाचन क्षेत्रका युवाहरूको पार्टी प्रवेशले विकास, सुशासन र राष्ट्र निर्माणप्रति भाजपाले अघि सारेको प्रतिबद्धतामाथि युवाहरूको विश्वास बढ्दै गएको पार्टीको दाबी छ। भाजपाले नवप्रवेशी सदस्यहरूबाट पार्टी सङ्गठनलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा व्यक्त गरेको छ।
यसैबीच, प्रदेश अध्यक्ष थापाले सोमबार नै गान्तोकस्थित सिटी कार्यालयमा गान्तोक जिल्ला पार्टीका पदाधिकारीहरूसँग बैठक पनि गरे। बैठकको प्रारम्भमा आरिथाङका पूर्व मण्डल अध्यक्ष स्वर्गीय प्रभात झाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनेट मौनधारण गरियो।
बैठकमा प्रदेश अध्यक्षले पार्टीको केन्द्रिय नेतृत्वबाट निर्धारित आगामी साङ्गठनिक गतिविधिहरूबारे पदाधिकारीहरूलाई जानकारी गराए। साथै राष्ट्रिय तथा राज्यस्तरीय समसामयिक विषय, विकसित हुँदै गरेका राजनीतिक घटनाक्रम, साङ्गठनिक प्राथमिकता र सामूहिक रूपमा ध्यान दिनुपर्ने प्रमुख मुद्दाहरूमाथि छलफल गरिएको भाजपा सिक्किमको सञ्चार प्रकोष्ठले जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल