कोलकाताः दुर्गा पूजा पास घोटालामा पूर्व मन्त्री इन्द्रनील सेनकी छोरीलाई बोलाइयो, लालबजारमा सोधपुछ गरिने
इंद्रनिल सेन


कोलकाता, ०2 नोभेम्बर (हि.स.)। दुर्गा पूजाको पास बेचेको नाममा करोड़ौं रुपियाँको भ्रष्टाचार गरेको मामिलामा कोलकाता पुलिसले राज्यका पूर्व मन्त्री इन्द्रनील सेनकी छोरीलाई सोधपुछका लागि लालबजारमा बोलाएको छ।

जाँचकर्ताहरूलाई शङ्का लागेको छ, यस घोटालामा पूर्व मन्त्रीकी छोरी पनि सामेल हुनसक्छ,किनभने पुलिसको नजर उनको ब्याङ्क खातामाथि थियो जहाँ संदिग्ध लेनदेन भएको सुइँको पाइएको छ। सोमवार उनलाई पुलिस मुख्यालय लालबजारमा उपस्थित हुने निर्देश दिइएको छ जहाँ अनुसन्धान अधिकारीहरूले उनलाई यी वित्तीय लेनदेनका श्रोतहरूको बारेमा सोधपुछ गर्नेछन्।

भ्रष्टाचारको यस हाई प्रोफाइल मामिलामा पुलिसले पूर्व मन्त्री इन्द्रनील सेनलाई पहिले नै पक्राउ गरिसकेको छ जो हाल पुलिस हिरासतमा छन्। यसै मामिलामा दर्ता एफआईआरमा उनकी पत्नी मधुछन्दा सेनको नाम पनि सामेल छ, तथापि उनले कलकत्ता उच्च अदालतबाट अग्रिम जमानत प्राप्त गरिसकेकी छन्। अदालतले इन्द्रनीलको अग्रिम जमानत याचिकालाई खारेज गरिदिएको थियो , जसले गर्दा उनलाई पक्राउ गरिएको थियो। सम्पूर्ण परिवारको ब्याङ्क खाता अहिले जाँच एजेन्सीको रडारमा छ भने यसै सन्दर्भमा छोरीलाई बोलाइएको हो।

यो सम्पूर्ण विवाद दुर्गा पूजाको पास बेचेको तथा 'प्रीभ्यु शो'-को आयोजनमा भएको व्यापक अनियमितताहरूसँग सम्बन्धित छ। इन्द्रनील र उनका परिवारले 'मास आर्ट' नामक संस्था मार्फत करोडौँ रुपियाँ अवैध रूपमा आर्जन गरेको आरोप लगाइएको छ। मधुछन्द सेन यस संस्थाकी पदाधिकारी थिन्। वर्ष 2021- मा कोलकाताको दुर्गा पूजाले यूनेस्को मान्यता प्राप्त गरेपछि यो निकाय गठन भएको थियो। यो सङ्गठनले अवैध रूपमा पासहरू बेच्न र प्रचार गर्न यूनेस्कोको नाम प्रयोग गरेको अनि यूनेस्कोबाट प्रत्यक्ष स्वीकृति पाएको दाबी गरेको आरोप लगाइएको छ जबकि वास्तवमा यूनेस्कोले त्यस्तो कुनै व्यावसायिक सम्झौता गरेको थिएन।

यस सम्बन्धमा जयदीप मुखर्जी नामक व्यक्तिले बाउबजार पुलिस थानामा उजुरी गरेका थिए जसको आधारमा एफआईआर दर्ता गरियो। पुलिससँगै प्रवर्तन निदेशालय (ईडी)- ले पनि यस मामिलामा वित्तीय लेनदेन तथा मनी लाणड्र्ङि्गको पक्षमा गहन अनुसन्धान गरिरहेको छ।

/ बिशाल


 rajesh pande