
हरिद्वार, २१ नोभेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक सङ्घका सरसङ्घचालक डा. मोहन भागवतले शनिवार सनातन धर्मलाई लिएर कुनै प्रकारको शङ्का वा चिन्ता गर्न आवश्यक नरहेको बताएका छन्। वर्तमान विश्व अनेकौँ चुनौतीहरूसँग जुधिरहेको छ र यी समस्याहरूको समाधानका लागि संसारको नजर भारततर्फ रहेको छ, किनभने भारतीय संस्कृति र सनातन चिन्तनमा मात्रै मानवतालाई दिशा दिने क्षमता निहित रहेको उनले बताए।
डा. भागवत यहाँ अखिल विश्व गायत्री परिवारद्वारा आयोजित माता भगवती देवी शर्मा तथा अखण्ड दीप शताब्दी वर्ष समारोहको एक सत्रलाई सम्बोधन गरिरहेका थिए। डा. भागवतले कुनै पनि सङ्गठनका लागि सय वर्ष पूरा गर्नु सजिलो नहुने र त्यसलाई अनुशासित रूपमा अगाड़ी बढ़ाउनु अझ् ठूलो चुनौती हुने बताए। उनले ईश्वरीय कार्यहरूको सञ्चालनका लागि भगवान् स्वयं अगाड़ी नआउने, बरु योग्य व्यक्ति र सङ्गठनहरूलाई त्यसको श्रेय र जिम्मेवारी प्रदान गर्ने बताए।
यस अवसरमा माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहका क्रममा उनको तपस्या, त्याग, सेवा र मातृत्वले ओतप्रोत जीवनको स्मृतिमा विशेष स्मारक डाक टिकट विमोचन गरियो।
सरसङ्घचालकले कुनै पनि सङ्गठनको सय वर्षको यात्रामा उपेक्षा र चुनौतीहरूको सामना गर्नुपर्ने तर निरन्तर सेवा र समर्पणपछि समाजको समर्थन, विश्वास र मान्यता पनि प्राप्त हुने बताए। उनले सङ्घ र गायत्री परिवारका कार्यहरूलाई ईश्वरीय उद्देश्यसँग जोड़िएको बताउँदै यस्ता कार्यहरूको निरन्तर विस्तार र सफल हुनु तिनको स्वाभाविक नियति रहेको बताए।
कार्यकर्ताहरूलाई आह्वान गर्दै उनले हनुमानजी संसारभरिका सेवाभावी कार्यकर्ताहरूका आदर्श भएको बताए। जसरी उनले आफूलाई रामकार्यमा समर्पित गरेका थिए, त्यसरी नै प्रत्येक कार्यकर्ताले सनातन संस्कृति र समाज निर्माणको कार्यलाई समर्पणका साथ अगाड़ी बढ़ाउनुपर्ने उनले बताए।
यसअघि जन्मशताब्दी समारोहमा वैदिक मन्त्रपाठ, ब्याण्ड र शङ्खनादका साथ तीन वटा कलश प्रवेश गराइएपछि समारोहको विधिवत् शुभारम्भ भयो। यी कलशहरू गायत्री परिवारका संस्थापक पण्डित श्रीराम शर्माको जन्मभूमि आँवलखेडा (आगरा), तपोभूमि मथुरा तथा कर्मभूमि हरिद्वारका विभिन्न क्षेत्रमा जनचेतना जगाउँदै समारोह स्थल पुगे। त्यहाँ वरिष्ठ कार्यकर्ताहरूले मङ्गल आरती गरेर तिनको स्वागत गरे। डाक टिकट विमोचन समारोह कार्यक्रमको अध्यक्षता अखिल विश्व गायत्री परिवारकी प्रमुख शैलदीदीले गरिन्।
जन्मशताब्दी समारोहका दलनायक डा. चिन्मय पण्ड्याले यो आयोजनाले सौभाग्यको उदयको ऐतिहासिक अवसर लिएर आएको बताए। उनले महर्षि अरविन्दको भनाइ स्मरण गर्दै साल २०२६ इतिहासका पानाहरूमा दिव्य ज्योतिको अवतरण वर्षका रूपमा चिनिने बताए।
परम वन्दनीया माता भगवती देवी शर्माको व्यक्तित्व र कृतित्वको स्मरण गर्दै डा. पण्ड्याले माताजीको सम्पूर्ण जीवन तपस्या, त्याग, साधना र समाज निर्माणमा समर्पित रहेको बताए। माताजीले विशाल सङ्कल्प र सङ्गठन शक्तिका साथ अश्वमेध महायज्ञहरूको सञ्चालन गर्नुभएको कार्य आफैँमा अद्वितीय उदाहरण रहेको उनले बताए।
यसअघि स्वामी राजराजेश्वराश्रमले कुनै पनि संस्थाको वास्तविक आत्मा त्यसको भवन, स्रोतसाधन वा विस्तारमा नभई त्यहाँ कार्य गर्ने व्यक्तिहरूको चरित्र, साधना, समर्पण र जीवनमूल्यमा निहित हुने बताए। यसका साथै श्रीहरि सेवाधामका प्रमुख स्वामी हरिचेतनानन्दजी, आर्ष विद्या मन्दिरका अध्यक्ष स्वामी परमात्मानन्द, सूरतगिरि बङ्गलाका परमाध्यक्ष स्वामी विश्वेश्वरानन्द गिरि महाराज लगायतले समारोहमा आशीर्वचन प्रदान गरे।
यस अवसरमा अखिल विश्व गायत्री परिवारका तर्फबाट दलनायक डा. चिन्मय पण्ड्याले अतिथिहरूलाई गायत्री महामन्त्र लेखिएको च्यादर, रुद्राक्ष माला, स्मृतिचिह्न लगायतका सामग्री प्रदान गरी सम्मान गरेका थिए। कार्यक्रममा भारतसहित ४० देशबाट आएका गायत्री परिवारका सदस्यहरू तथा जिल्ला प्रशासनका अधिकारीहरू उपस्थित थिए।
/ बिशाल