
बुडापेस्ट, २१ नोभेम्बर (हि.स.)। अलीरेजा फिरोजाले अनिश गिरिलाई पछि पार्दै टोटल चेस विश्व च्याम्पियनसिप टुर पाइलटको उपाधि जितेका छन्। शुक्रबार भएको निर्णायक आर्मागेडन खेल बराबरीमा टुङ्गिएपछि कालो गोटीबाट खेलेका फिरोजालाई नियमअनुसार विजेता घोषित गरिएको हो।
हङ्गेरीको राजधानी बुडापेस्टमा आयोजित प्रतियोगिताको फाइनलको दोस्रो दिन फिरोजाले १२-८ को जित दर्ता गर्दै समग्र प्रतिस्पर्धालाई बराबरीमा ल्याएका थिए। यसअघि बिहीबार गिरिले पहिलो दिन ११-९ को अग्रता बनाएका थिए।
उपाधिको निर्णयका लागि खेलाइएको आर्मागेडन प्रतिस्पर्धामा गिरिले सेतो र फिरोजाले कालो गोटीबाट खेलेका थिए। ३५ चालपछि खेल बराबरीमा टुङ्गिएपछि आर्मागेडनको नियमअनुसार कालो गोटीबाट खेल्ने खेलाडी विजेता हुने प्रावधानका आधारमा फिरोजाले उपाधि जिते। गिरि दोस्रो स्थानमा रहे।
फिरोजाको शानदार पुनरागमन
फाइनलको दोस्रो दिन ब्लिट्जका चारवटै खेलमा निर्णायक नतिजा आएको थियो। गिरिले सेतो गोटीबाट पहिलो खेल जिते पनि फिरोजाले लगातार दुई खेल जित्दै पुनरागमन गरे। चौथो खेल गिरिले कालो गोटीबाट जितेपछि ब्लिट्जको नतिजा २-२ को बराबरीमा पुगेको थियो।
त्यसपछि र्यापिडको पहिलो खेल फिरोजाले कालो गोटीबाट जिते भने दोस्रो खेल बराबरीमा टुङ्गियो। यससँगै उनले ८-४ को अग्रता बनाए। फास्ट क्लासिकल खेलमा गिरिलाई उपाधि जित्न अनिवार्य जित आवश्यक थियो। तर, खेल बराबरीमा टुङ्गिएपछि फिरोजाले दोस्रो दिनको प्रतिस्पर्धा १२-८ ले आफ्नो पक्षमा पारे र खेल आर्मागेडनसम्म पुगेको थियो।
कारुआनाले हासिल गरे तेस्रो स्थान
फाबियानो कारुआनाले म्याक्सिम भाचियर-लाग्रेभलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरे। भाचियर-लाग्रेभले ब्लिट्जका शुरुवाती तीन खेल जित्दै ३.५-०.५ को अग्रता बनाएका थिए। तर, कारुआनाले र्यापिडको पहिलो खेल जितेर पुनरागमन गरे। दोस्रो खेल र फास्ट क्लासिकल खेल बराबरीमा टुङ्गिएको थियो।
कारुआनाले शुक्रबारको प्रतिस्पर्धा १०.५-९.५ ले जितेका थिए। यसअघि बिहीबार पनि उनले ११-९ को जित दर्ता गरेका थिए। लगातार दुई दिनको जितसँगै उनले तेस्रो स्थान सुनिश्चित गरे भने भाचियर-लाग्रेभ चौथो स्थानमा रहे।
आर्मागेडनमा कार्लसन र रापोर्ट विजयी
म्याग्नस कार्लसनले आर्मागेडनमा भ्लादिस्लाभ आर्टेमिएभलाई पराजित गर्दै १७औँ स्थान हासिल गरे। शुक्रबार आर्टेमिएभले १५.५-४.५ को जित दर्ता गर्दै प्रतिस्पर्धालाई बराबरीमा ल्याएका थिए। तर, निर्णायक आर्मागेडन खेलमा कार्लसनले कालो गोटीबाट जित हासिल गरे। आर्टेमिएभ १८औँ स्थानमा रहे।
त्यसैगरी, रिचर्ड रापोर्टले आर्मागेडनमा जोर्डन भान फरेस्टलाई पराजित गर्दै ११औँ स्थान हासिल गरे। भान फरेस्टले दोस्रो दिन १२-८ को जित दर्ता गर्दै प्रतिस्पर्धा बराबरीमा ल्याएका थिए। निर्णायक आर्मागेडन खेलमा रापोर्टले ३२ चालमा जित निकाले। भान फरेस्ट १२औँ स्थानमा रहे।
हिन्दुस्थान समाचार / बिशाल