
मेलबर्न, १७ नोभेम्बर (हि.स.)। इङ्ल्यान्डकी चर्चित स्पिनर सोफी एक्लेस्टोन ढाडको चोटका कारण महिला बिग ब्यास लिग (डब्ल्यूबीबीएल) को जारी सत्रका बाँकी खेलहरूबाट बाहिरिएकी छन्। उनी एडिलेड स्ट्राइकर्सका तर्फबाट खेलिरहेकी थिइन्। पर्थ स्कर्चर्सविरुद्धको खेलअघि उनलाई चोट लागेको थियो।
पश्चिमी अस्ट्रेलियामा स्वास्थ्य परीक्षणका लागि स्क्यान गरिएपछि तथा इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डसँग परामर्श गरेपछि एक्लेस्टोनले चोटबाट निको हुन पुनर्स्थापनाको प्रक्रिया अपनाउनुपर्ने निर्णय गरिएको हो।
एडिलेड स्ट्राइकर्सका मुख्य प्रशिक्षक ल्यूक विलियम्सले आधिकारिक विज्ञप्तिमा भनेका छन्, “सोफी स्ट्राइकर्सका लागि उत्कृष्ट खेलाडी साबित भएकी छन्। उनले आफ्नो ब्याटिङ र बलिङका साथै नेतृत्व क्षमता तथा अनुभवमार्फत पनि टोलीलाई ठूलो योगदान दिएकी छन्। उनी विश्वकै उत्कृष्ट बलरमध्ये एक हुन्। उनलाई गुमाउनुपर्दा हामी निराश छौँ। तर, क्लबसँगको आफ्नो कार्यकालमा उनले पुर्याएको योगदानप्रति हामी अत्यन्त आभारी छौँ। हामी सोफीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ र भविष्यमा उनलाई पुनः एडिलेडमा स्वागत गर्ने आशा राख्दछौँ।”
एक्लेस्टोनले यस सत्रमा स्ट्राइकर्सका लागि चार खेल खेल्दै चार विकेट लिएकी थिइन्। उनले भनिन्, “मेरो सत्र यसरी समाप्त भएकोमा म वास्तवमै निकै दुःखी छु। एडिलेड र स्ट्राइकर्ससँगको मेरो समय निकै राम्रो रह्यो। सत्रका बाँकी खेलहरूमा पनि म हरेक कदममा टोलीलाई समर्थन गरिरहनेछु। हाम्रो टोलीले यस वर्ष केही उत्कृष्ट प्रदर्शन गरेको छ र फाइनलमा स्थान बनाउने प्रयासमा रहेका खेलाडीहरूको उत्साह बढाइरहनेछु।”
११ सत्रपछि पहिलोपटक बिग ब्यासको पूरै प्रतियोगिताका लागि उपलब्ध हुने लाबुशेन
अस्ट्रेलियाली ब्याट्सम्यान मार्नस लाबुशेन आगामी बिग ब्यास लिग सत्रमा ब्रिस्बेन हीटका तर्फबाट खेल्ने भएका छन्। लगातार ११ सत्रदेखि बिग ब्यास लिगमा सहभागी हुँदै आएका लाबुशेन पहिलोपटक प्रतियोगिताका सबै खेलका लागि उपलब्ध हुने अवस्थामा छन्।
राष्ट्रिय टेस्ट टोलीबाट बाहिरिएपछि घरेलु क्रिकेटमा उनको प्रदर्शन प्रभावशाली रहन सकेको छैन। यस्तो अवस्थामा आगामी बिग ब्यास सत्रमार्फत उनी आफ्नो गुमेको लय पुनः प्राप्त गर्ने प्रयासमा रहनेछन्।
ब्रिस्बेन हीटले तीव्र गतिका बलर ओली प्याटरसन र टम बाल्किनसँग पनि सम्झौता गरेको पुष्टि गरेको छ। टोलीमा विदेशी खेलाडीका रूपमा टम करन, टिम रोबिन्सन र बेभन ज्याकब्स पनि रहेका छन्।
हिन्दुस्थान समाचार / बिशाल