हात भाँचिएपछि भारतविरुद्धको टेस्ट शृङ्खलाबाट बाहिरिए स्यान्टनर, फक्सक्रफ्टले पाए मौका
मिचेल सैंटनर


वेलिङ्टन, १७ नोभेम्बर (हि.स.)। न्युजिल्यान्डका अलराउन्डर मिचेल स्यान्टनर दाहिने हात भाँचिएका कारण भारतविरुद्ध हुने आगामी दुई टेस्ट खेलको शृङ्खलाबाट बाहिरिएका छन्। उनको स्थानमा अलराउन्डर डीन फक्सक्रफ्टलाई न्युजिल्यान्डको टेस्ट टोलीमा समावेश गरिएको छ।

न्युजिल्यान्डको सीमित ओभरको टोलीका कप्तान स्यान्टनर आइतवार (१५ नोभेम्बर) माउन्ट माउङ्गानुईमा भारतविरुद्ध भएको पाँचौँ एकदिवसीय खेलका क्रममा ब्याटिङ गरिरहेको बेला दाहिने हातमा चोट लागेका थियो। भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहको एउटा बल उनको दाहिने हातको पछिल्लो भागमा लागेको थियो। न्युजिल्यान्डको पारीको ३७औँ ओभरमा चोट लागेपछि फिजियोले मैदानमै उनको उपचार गरेका थिए। यद्यपि, स्यान्टनरले ब्याटिङ जारी राख्दै २४ रन बनाएर आउट भएका थिए। पछि गरिएको परीक्षणमा उनको हात भाँचिएको पुष्टि भएपछि उनी टेस्ट शृङ्खलाबाट बाहिरिएका हुन्।

न्युजिल्यान्ड क्रिकेटद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्यान्टनरलाई मैदानमा फर्कन कति समय लाग्छ भन्ने विषयमा अहिले मूल्याङ्कन भइरहेको छ। दिसम्बरमा अस्ट्रेलियाविरुद्ध हुने चार टेस्ट खेलको भ्रमणमा उनको उपलब्धताबारे उचित समयमा जानकारी दिइनेछ।”

स्यान्टनरको स्थानमा डीन फक्सक्रफ्टलाई भारतविरुद्धको टेस्ट शृङ्खलाका लागि टोलीमा समावेश गरिएको छ। फक्सक्रफ्टले भारतविरुद्धका पछिल्ला दुई एकदिवसीय खेलमा पनि सहभागिता जनाएका थिए। उनले यस वर्ष मई महिनामा आयरल्यान्डविरुद्ध आफ्नो एकमात्र टेस्ट खेलेका थिए, जसमा ९८ रन बनाएका थिए।

भारत ‘ए’ विरुद्धका अनौपचारिक टेस्ट खेलहरूमा पनि फक्सक्रफ्टले उत्कृष्ट प्रदर्शन गरेका थिए। ती खेलहरूमा उनले क्रमशः ५१, ४२, ९३ र अविजित १० रन बनाएका थिए।

भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट १९ नोभेम्बरदेखि वेलिङ्टनको बेसिन रिजर्भमा खेलिनेछ। दोस्रो टेस्ट २७ नोभेम्बरदेखि क्राइस्टचर्चको हेग्ली ओभलमा शुरु हुनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande