
नयाँ दिल्ली, २४ नोभेम्बर (हि.स.)। गुरु नानक देवजीको ५५७औँ जयन्तीको अवसरमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले मङ्गलवार दिल्ली स्थित गुरुद्वारा रकाबगञ्ज साहिबमा मत्था टेकेका छन्। उनले गुरुद्वारामा अरदास गर्नुका साथै कीर्तन पनि सुने।
यस अवसरमा दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्रा र दिल्ली सरकारका मन्त्री सरदार मनजिन्दर सिंह सिरसा पनि उनीसँगै उपस्थित थिए। गुरुद्वारा व्यवस्थापन समितिका तर्फबाट सिख परम्परा अनुसार नितिन नवीनलाई सम्मानस्वरूप सरोपा प्रदान गरियो।
गुरुद्वारा परिसरमा उपस्थित सङ्गतलाई सम्बोधन गर्दै नितिन नवीनले गुरु नानक देवजीले मानवतालाई ‘एक ओंकार, एक ज्योति’ को सन्देश दिनुभएको बताए। उनले जातपात, ठूलो सानो र भेदभाव हटाएर समाजलाई ‘नाम जपो, किरत करो, वण्ड छको’ को मार्ग देखाउनुभएको उनले बताए। गुरुजीका शिक्षाहरूले आज पनि मानवता, समानता, सेवा र परोपकारको प्रेरणा दिइरहेको उनले उल्लेख गरे।
उनले मोदी सरकारले गुरु नानक देवजीका आदर्शहरूलाई आत्मसात् गर्दै अन्त्योदय र ‘सबैको साथ, सबैको विकास’ भन्ने मन्त्रलाई साकार पार्ने दिशामा काम गरिरहेको बताए। गुरु नानक देवको जयन्तीका अवसरमा उनको प्रकाशले सबैको जीवनलाई करुणा, परिश्रम र परोपकारले आलोकित गरोस् तथा भारत विश्वगुरु बनोस् भन्ने कामना उनले गरे।
हर्ष मल्होत्राले पनि गुरु नानक जयन्तीका अवसरमा दिल्लीवासीलाई बधाई दिए। उनले गुरुजीले प्रेम, भाइचारा र सेवाको सन्देश दिनुभएको बताए। दिल्ली भाजपा उनका आदर्शहरूलाई आत्मसात् गर्दै समाजका अन्तिम व्यक्तिसम्म सेवा पुर्याउन प्रतिबद्ध रहेको उनले बताए।
मन्त्री मनजिन्दर सिंह सिरसाले सङ्गतलाई प्रकाश पर्वको शुभकामना दिँदै गुरु नानक देवजीको ‘सबैको भलो’ भन्ने सन्देश नै सरकारको सङ्कल्प भएको बताए। गुरुद्वाराहरूको मर्यादा र सिख सम्पदाको संरक्षणका लागि सरकार सदैव तत्पर रहेको उनले बताए।
यस अवसरमा दिल्ली सिख गुरुद्वारा व्यवस्थापन समितिका अध्यक्ष सरदार हरमीत सिंह कालकाले नितिन नवीनको स्वागत गरे। उनले गुरु नानक देवजीले देखाउनुभएको मार्गमा हिँड़ेर मात्र देशलाई एकता र भाइचाराको सूत्रमा बाँध्न सकिने बताए।
कार्यक्रममा भाजपाका राष्ट्रिय सञ्चारमाध्यम संयोजक आशीष ऊषा अग्रवाल, विधायक सरदार तरविन्दर सिंह मारवाह, निगम पार्षद योगिता सिंह, पञ्जाबी एकेडेमीका उपाध्यक्ष सरदार इम्प्रीत सिंह बख्शी, दिल्ली भाजपा प्रवक्ता यासिर जिलानी लगायत ठूलो सङ्ख्यामा पार्टीका कार्यकर्ता तथा सङ्गत उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी