
नयाँ दिल्ली, २४ नोभेम्बर (हि.स.)। देशको मौसममा अहिले दोहोरो अवस्था देखिएको छ। दिल्ली-एनसीआरमा वायुको गुणस्तर ‘खराब’ श्रेणीमा कायम रहेको र रातिको तापक्रम घट्ने सम्भावना रहेको छ भने दक्षिण भारतका धेरै राज्यहरूमा पूर्वी हावाको प्रभावका कारण भारी वर्षा तथा तीव्र हावा चल्ने चेतावनी जारी गरिएको छ।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) को तथ्याङ्क अनुसार, दिल्ली-एनसीआरका धेरै प्रमुख क्षेत्रमा वायुको गुणस्तर चिन्ताजनक अवस्थामा रहेको छ। आईटीओको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २९३, चाँदनी चोकको २५६, आनन्द विहारको २०६ र गाजियाबादको २०६ मापन गरिएको छ, जुन ‘खराब’ श्रेणीमा पर्दछ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) अनुसार, २५ र २६ नोभेम्बरमा बिहान केही स्थानमा धुम्म वा हल्का कुहिरो लाग्न सक्छ। यस अवधि न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियसका बीच रहने सम्भावना छ। २७ नोभेम्बरमा चिसो अझ् बढ्नसक्छ र न्यूनतम तापक्रम घटेर ८ देखि १० डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको छ।
बङ्गालको खाड़ी, दक्षिण केरल र कोमोरिन क्षेत्रमा सक्रिय चक्रवाती परिसञ्चरण तथा पूर्वी हावाको ट्रफका कारण दक्षिणी प्रायद्वीपीय भारतको मौसममा परिवर्तन आउनेछ। २५ देखि २७ नोभेम्बरसम्म केरल, माहे, तमिलनाडु, पुडुचेरी र कराईकलका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
यस बाहेक २५ देखि ३० नोभेम्बरसम्म तटीय आन्ध्र प्रदेश र रायलसीमा, २५ देखि २८ नोभेम्बरसम्म तटीय तथा दक्षिण आन्तरिक कर्नाटक र २५ नोभेम्बरमा तेलङ्गानाका केही स्थानमा वर्षा हुनसक्छ।
त्यस्तै, २५ देखि २८ नोभेम्बरसम्म तमिलनाडु, पुडुचेरी र कराईकलमा मेघगर्जन सहित प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा तीव्र हावा चल्नसक्छ। हावाको गति प्रतिघण्टा ६० किलोमिटरसम्म पुग्नसक्ने सम्भावना छ। केरल, माहे र लक्षद्वीपमा (२५ देखि २७ नोभेम्बर) तथा तटीय आन्ध्र प्रदेश, यानम र रायलसीमामा (२५ देखि २८ नोभेम्बर) प्रतिघण्टा ३० देखि ४० किलोमिटरको गतिमा हावा चल्ने अनुमान गरिएको छ। हावाको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटरसम्म पुग्नसक्छ।
पश्चिम तथा मध्य भारतका बासिन्दाका लागि भने राहतको खबर रहेको छ। यस साता यी क्षेत्रहरूको मौसममा कुनै ठूलो परिवर्तन हुने सम्भावना छैन। यद्यपि, उत्तरी क्षेत्रहरू तथा असम वरपर पश्चिमी विक्षोभ र माथिल्लो वायुमण्डलमा चक्रवाती परिसञ्चरण सक्रिय अवस्थामा रहेका छन्।
/ बिशाल