
डा. मयङ्क चतुर्वेदी
२६ नोभेम्बर, २००८ को त्यो कालो रात भारतीय इतिहासका पानाहरूमा बारुद, चित्कार र वीरताको गाथाका रूपमा दर्ता छ। साथै, यसले मानवीय संवेदना र वैचारिक पतनको अत्यन्त भयावह तस्बिर पनि प्रस्तुत गरेको छ। प्रायः हामी यस दिनलाई पाकिस्तान प्रायोजित आतङ्कवाद, भारतीय सुरक्षा निकायहरूको अदम्य साहस र १६६ भन्दा बढी निर्दोष मानिसले ज्यान गुमाएको घटनाका रूपमा स्मरण गर्छौँ।
वास्तवमा यस रक्तपातपूर्ण घटनाको अर्को उत्तिकै चिन्ताजनक पक्ष पनि छ। त्यो हो, धर्मको कथित विकृत र सङ्कीर्ण व्याख्याका नाममा कम उमेरका युवाहरू तथा बालबालिकालाई कसरी भ्रमित पारेर मृत्युको व्यापारी बनाइन्छ भन्ने विषय। जब मुम्बईका सडकहरूमा एके-४७ बाट गोली वर्षाइँदै थियो, त्यसबेला बन्दुकको ट्रिगर दबाउने हातहरू ती युवाहरूका थिए, जसका आँखामा भविष्यका सपना हुनुपर्ने थियो। तर तिनको मस्तिष्कमा घृणा र कथित ‘स्वर्ग’ को झुटो प्रलोभन भरिएको थियो।
यस हमलाको सबैभन्दा ठूलो जीवित प्रमाण अजमल आमिर कसाबको कथा यस प्रकारको वैचारिक ब्रेनवशको प्रत्यक्ष उदाहरण हो। मात्र २१ वर्षको उमेरमा कसाब र उसका अन्य नौ जना साथी, जो लगभग उस्तै उमेरका थिए, यस्तो आत्मघाती यात्रामा निस्किएका थिए, जहाँबाट फर्कने कुनै बाटो थिएन।
यी युवाहरूलाई आतङ्ककारी नेतृत्वले धर्मको रक्षाका नाममा झुटो शिक्षा दिएको थियो। लश्कर-ए-तैयबा जस्ता सङ्गठनका प्रशिक्षण शिविरहरूमा यी बालबालिकाको कोमल मनमस्तिष्कलाई यसरी नियन्त्रणमा लिइएको थियो कि उनीहरूलाई निर्दोष महिला, बालबालिका र वृद्धवृद्धाको हत्या गर्नु पवित्र कर्तव्य अर्थात् अल्लाहको कार्य हो भन्ने लाग्न थालेको थियो। यो त्रासदीले हामीलाई सोच्न बाध्य बनाउँछ कि आतङ्कवादका कारखानाहरूले हतियार निर्माण गर्नुका साथै मानवताको घाँटी निमोठेर मानिसलाई जीवित बममा परिणत गर्छन्।
वास्तवमा आतङ्कवादको यस मनोवैज्ञानिक पक्षलाई बुझ्नु पनि उत्तिकै आवश्यक छ, किनभने बन्दुक बोक्ने प्रत्येक युवा जन्मजात अपराधी हुँदैन। सीमापारि बसेका आतङ्ककारी नेताहरू, जो आफैँ भव्य महलमा सुरक्षित बस्छन् र आफ्ना छोराछोरीलाई विदेशमा उच्च शिक्षा दिलाउँछन्, उनीहरूले गरिब परिवारका बालबालिकाको हातमा कुरानको गलत व्याख्या थमाइदिन्छन्।
२६/११ का हमलाकारीहरूलाई पनि मुम्बईमा रक्तपात मच्चाएपछि सीधै स्वर्ग प्राप्त हुने र स्वर्गमा ७२ हूरहरू पाइने विश्वास दिलाइएको थियो। कसाबका बयान तथा अनुसन्धान निकायका प्रतिवेदनबाट यी युवाहरूलाई बाहिरी संसारको वास्तविकताबाट पूर्ण रूपमा अलग राखिएको स्पष्ट भएको थियो। उनीहरूलाई सिकाइएको कथित ‘जिहाद’ मानवताको शत्रु हो।
कथित इस्लामिक आतङ्कवादका नाममा युवाहरूलाई भ्रमित पार्ने यो सिलसिला २००८ मा मात्र सीमित रहेन। आजको डिजिटल युगमा यसले अझ खतरनाक रूप लिएको छ। पहिले आतङ्ककारी सङ्गठनहरूलाई युवाहरूको ब्रेनवश गर्न गोप्य प्रशिक्षण शिविरहरूको आवश्यकता पर्थ्यो भने अहिले इन्टरनेट र सामाजिक सञ्जालमार्फत यस्तो विष घरघरमा पुर्याउने खतरा बढेको छ।
२६/११ को हमला यस कुराको चेताउनी हो कि कुनै समाजमा सही मार्गदर्शनको अभाव हुँदा कट्टरपन्थी शक्तिहरूले त्यो खालीपनलाई घृणाले भरिदिन्छन्। यस्ता शक्तिहरूले धर्मको आड लिएर युवाहरूको ऊर्जालाई सिर्जनात्मक कार्यको सट्टा विनाशतर्फ मोडिदिन्छन्। यसबाट हमला भएको देशलाई क्षति पुग्नुका साथै आतङ्ककारीहरू आउने समाजको एउटा पूरै पुस्तासमेत बर्बाद हुन्छ।
मुम्बई हमलाका क्रममा छत्रपति शिवाजी महाराज टर्मिनस, ताजमहल प्यालेस होटल, ओबेरोय ट्राइडेन्ट र नरीमन हाउसमा रक्तपात मच्चाइँदै गर्दा हमलाकारीहरूको अनुहारमा कुनै पश्चात्ताप देखिएको थिएन। सीसीटीभी क्यामेरामा कैद भएको कसाबको तस्बिरमा उसको काँधमा झोला र हातमा बन्दुक देखिन्छ। ऊ निर्भीक रूपमा हिँडिरहेको थियो। उसले हातमा कलावा (रक्षासूत्र) बाँधेर आएको थियो, ताकि ऊ मारिए पनि हमला गर्नेहरू हिन्दू थिए भन्ने सन्देश फैलाउन सकियोस्।
यस घटनाले वैचारिक कट्टरताले मानिसको संवेदनालाई कुन हदसम्म शून्य बनाउन सक्छ भन्ने प्रमाणित गरेको थियो। यस घटनाका राजनीतिक तथा कूटनीतिक पक्षबारे प्रत्येक वर्ष चर्चा हुने गरे पनि दुःखका साथ भन्नुपर्छ कि यसको सामाजिक तथा शैक्षिक पक्षमा त्यति ध्यान दिइएको छैन।
पाकिस्तानको गुप्तचर संस्था आईएसआई र आतङ्ककारी सङ्गठनहरूको मिलेमतोमा यो हमला गरिएको थियो भन्ने निर्विवाद सत्य हो। यससँगै अर्को तीतो सत्य के पनि हो भने भारतीय उपमहाद्वीप अर्थात् दक्षिण एसियाको यस क्षेत्रमा युवाहरूलाई कट्टरपन्थबाट जोगाउन कुनै ठोस वैचारिक संरचना तयार हुन सकेको छैन।
वास्तवमा धर्मका नाममा हुने हिंसालाई जरैदेखि उखेल्न धार्मिक विद्वान्, शिक्षाविद् र समाज सुधारकहरू एकसाथ अघि नआएसम्म कसाबजस्ता हजारौँ युवा यसरी नै भ्रमित भइरहनेछन्।
२६/११ को वार्षिकोत्सवका अवसरमा हामीले यस वैचारिक अन्धकारविरुद्ध लड्दै आफ्नो प्राणको आहुति दिने वीर सुरक्षाकर्मीहरूलाई पनि नमन गर्नुपर्छ। तुकाराम ओम्बलेले आफ्नो ज्यान दिएर कसाबलाई जीवितै पक्राउ गरेका थिए। यसबाट विश्वसामु पाकिस्तान र आतङ्ककारी सङ्गठनहरूको घृणित षड्यन्त्रको पर्दाफास हुन सकेको थियो।
हेमन्त करकरे, अशोक काम्टे, विजय सालस्कर र मेजर सन्दीप उन्नीकृष्णनजस्ता वीरहरूले देशको रक्षाप्रतिको आफ्नो समर्पण कुनै पनि कट्टरपन्थी उन्मादभन्दा निकै ठूलो रहेको प्रमाणित गरेका थिए। उनीहरूको बलिदानले आतङ्कवादविरुद्धको लडाइँ सीमामा मात्र नभई वैचारिक स्तरमा पनि लड्नुपर्ने कुरा स्मरण गराउँछ।
अन्तत:, २६/११ को मुम्बई हमलाले हामीलाई दुईवटा महत्वपूर्ण पाठ सिकाएको छ। पहिलो, हाम्रो राष्ट्रिय सुरक्षा र गुप्तचर प्रणालीलाई यति सुदृढ बनाउनुपर्छ कि कुनै पनि शत्रुले हाम्रो भूमिमा पाइला टेक्ने साहस गर्न नसकोस्। दोस्रो र सबैभन्दा महत्वपूर्ण पाठ भनेको धर्मका नाममा कुनै पनि बालबालिका वा युवालाई भ्रमित पारेर आतङ्कवादको बाटोमा धकेल्न नसकिने विश्वव्यापी वातावरण निर्माण गर्नु हो।
यस विषयमा भारत सरकारका साथै राज्य सरकारहरूले पनि विशेष ध्यान दिन आवश्यक छ, किनभने मदरसाहरूमा पढाइने कतिपय पुस्तकहरूले आज पनि घृणाका बीउ रोपिरहेका छन्।
वास्तवमा जब हामी यस दिनलाई आतङ्ककारी हमलाका साथै बाटो बिराएको युवा पुस्ताको त्रासदीका रूपमा पनि हेर्न थाल्नेछौँ, तब मात्र आतङ्कवादको जरामाथि प्रहार गर्न सक्षम हुनेछौँ। सही मानवीय मूल्यमा आधारित शिक्षा, तर्कशक्ति र मानवीय संवेदनाको भावनालाई विस्तार गर्नु नै कट्टरपन्थको यस अन्धकारलाई हटाउने एकमात्र प्रभावकारी हतियार हो। यसले भावी पुस्तालाई सुरक्षित र शान्तिपूर्ण भविष्य प्रदान गर्न सक्छ।
हिन्दुस्थान समाचार / बिशाल