



- मङ्गलमय यात्राको कामनासहित यात्रुहरूले बाटोमा ढुङ्गा राख्ने परम्परा
राँची, २६ नोभेम्बर (हि.स.)। झारखण्डको पहिचान घना जङ्गल, अग्ला पहाड र अथाह खनिज सम्पदामा मात्र सीमित छैन। यस भूमिमा शताब्दीयौँ पुरानो सांस्कृतिक विरासत, लोकआस्था र अनौठा परम्पराहरू आज पनि जीवित छन्। आधुनिकताको यस युगमा धेरै प्राचीन रीतिरिवाज क्रमशः लोप हुँदै गइरहेका बेला झारखण्डका ग्रामीण क्षेत्रमा यस्ता परम्पराहरू आज पनि पूर्ण श्रद्धा र विश्वासका साथ पालना गरिँदै आएका छन्। यस्तै अनौठो परम्परामध्ये एक हो ‘पत्थर कुदवा’।
यो परम्परा झारखण्डका चतरा, लातेहार, हजारीबागलगायत विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा शताब्दीयौँदेखि चलिआएको छ। प्राचीन समयमा यातायातका साधन सीमित हुँदा मानिसहरू लामो दूरीको यात्रा पैदलै तय गर्थे। त्यसबेला यात्रुहरूले आफ्नो यात्रा सकुशल र मङ्गलमय होस् भन्ने कामनासहित बाटोको किनारमा ढुङ्गा राख्ने गर्थे।
कुनै अर्को गाउँ वा अपरिचित स्थानको यात्रामा निस्कँदा वनदेवीसँग सुरक्षित यात्राको प्रार्थना गर्ने मान्यता रहेको थियो। यात्रा सकुशल पूरा गरी फर्किएपछि यात्रुहरूले त्यही स्थानमा एउटा ढुङ्गा अनिवार्य रूपमा राख्ने गर्थे। यसरी क्रमशः उक्त परम्पराका कारण सडक किनारमा ढुङ्गाका ठूला-ठूला थुप्रा बनेका छन्। आज पनि पैदल यात्रा गर्ने मानिसहरूले यस परम्परालाई निरन्तरता दिइरहेका छन्।
चतरा जिल्लाका सिमरिया, पत्थलगडा, गिद्धौर र टण्डवादेखि लातेहार जिल्लाको बालुमाथलगायत विभिन्न क्षेत्रमा यस्ता ढुङ्गाका थुप्रा देख्न सकिन्छ। विशेष कुरा के छ भने अहिले चारपाङ्ग्रे तथा अन्य सवारीसाधनबाट यात्रा गर्ने मानिसहरूले समेत यी स्थानहरू देख्दा श्रद्धापूर्वक शिर झुकाउने गर्छन्।
ग्रामीण समुदायमा यी ढुङ्गाका थुप्राहरूको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ। कतिपय स्थानमा आस्थाका यी प्रतीकहरूलाई हटाउनुको सट्टा तिनको छेउबाटै बाटो निर्माण गरिएको छ, ताकि यी सम्पदाहरू सुरक्षित रहन सकून्।
झारखण्डका विभिन्न क्षेत्रमा यस्ता ढुङ्गाका थुप्राका कारण स्थान तथा गाउँहरूको नामकरणसमेत भएको छ। राँची शहरमा पनि एउटा स्थान ‘पत्थर कुदवा’ नामले परिचित छ। कोडरमालगायत अन्य जिल्लामा पनि यस परम्परासँग सम्बन्धित नाम र स्थलहरू देख्न सकिन्छ।
चर्चित लेखक एवं मेगालिथ शोधकर्ता सुभाषित दासका अनुसार, झारखण्डमा ढुङ्गा राख्ने यो परम्परा शताब्दीयौँ पुरानो हो। यात्रुहरूले निरन्तर ढुङ्गा राख्दै जाँदा क्रमशः ठूलो ढिस्को अर्थात् ढुङ्गाको थुप्रो निर्माण हुने गर्छ। यी स्थानहरूप्रति ग्रामीण समुदायमा विशेष आस्था रहेको हुन्छ। यही कारणले ढुङ्गाका यी थुप्राहरूलाई हटाउनुको सट्टा संरक्षण गरेर राख्ने गरिएको छ। उनका अनुसार, यो परम्परा झारखण्डको सांस्कृतिक तथा धार्मिक विरासतको महत्वपूर्ण हिस्सा हो।
आचार्य चेतन पाण्डेयका अनुसार, आज पनि झारखण्डका अनेकौँ स्थानमा यस्ता ढुङ्गाका थुप्राहरू देख्न सकिन्छ। मानिसहरू त्यहाँ ढुङ्गा चढाएर श्रद्धापूर्वक शिर झुकाउने गर्छन्। कतिपय स्थानमा दुई गाउँबीचको सिमाना निर्धारण गर्न पनि यस्ता ढुङ्गाहरू प्रयोग गरिन्थ्यो। गाउँको सिमानामा राखिएका ढुङ्गाहरू क्रमशः ठूलो थुप्रोमा परिणत हुने गर्थे।
ग्रामीण समुदायमा यी स्थानहरूको महत्त्व कुनै तीर्थस्थलभन्दा कम हुँदैन। कसैले यसलाई वनदेवीको कृपासँग जोड्ने गर्छन् भने कसैले ग्रामदेवताप्रतिको श्रद्धाको प्रतीकका रूपमा लिने गर्छन्।
‘पत्थर कुदवा’ ढुङ्गा राख्ने एउटा सामान्य चलन मात्र नभएर झारखण्डको जनजीवन, लोकविश्वास, धार्मिक आस्था र सामुदायिक स्मृतिसँग जोडिएको शताब्दीयौँ पुरानो परम्परा हो। बदलिँदो समयका बावजुद पनि यो परम्परा जीवित रहनुले झारखण्डको सांस्कृतिक जरा आज पनि गाउँबस्तीको माटोमा गहिरोसँग गाडिएको प्रमाणित गर्छ।
हिन्दुस्थान समाचार / बिशाल