स्कुटर चढेर पुगिन् नेपालकी कृषिमन्त्री गीता चौधरी, मासु कोल्ड स्टोरेजको निरीक्षण
स्कूटर पर सवार होकर निरीक्षण के लिए निकली कृषि मंत्री


काठमाडौँ, २६ नोभेम्बर (हि.स.)। नेपालकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मासुजन्य उत्पादनको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको अवस्था बुझ्न काठमाडौँको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजहरूको आकस्मिक निरीक्षण गरेकी छन्। विशेष कुरा के रह्यो भने मन्त्री चौधरी आफैँ स्कुटर चलाएर निरीक्षणका लागि पुगेकी थिइन्। स्कुटरको पछाडि उनका निजी सुरक्षा अधिकारी बसेका थिए।

मन्त्री चौधरी ललितपुरस्थित जावलाखेल क्वार्टरबाट स्कुटर चलाउँदै निस्किएकी थिइन्। उनले सबैभन्दा पहिले बालाजुस्थित भ्याली कोल्ड स्टोर पुगेर निरीक्षण गरिन्। त्यसपछि उनले सीतापाइलास्थित बुढाथोकी कोल्ड स्टोरको पनि निरीक्षण गरिन्। उनका सचिवालयकी सदस्य सरिता चौधरीले यसबारे जानकारी दिएकी हुन्।

मन्त्रीको सचिवालयका अनुसार, गत १७ नोभेम्बरदेखि लागू गरिएको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०२६’ को कार्यान्वयन अवस्थाबारे जानकारी लिन यो निरीक्षण गरिएको हो।

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा कानुन लागू

उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले सरकारले काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सबै स्थानीय निकायमा यस कानुनलाई औपचारिक रूपमा लागू गरेको छ।

आकस्मिक निरीक्षणका क्रममा मन्त्रीले कोल्ड स्टोरेजमा मासु भण्डारणको व्यवस्था, सरसफाई, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षासम्बन्धी निर्धारित मापदण्डको पालना भए-नभएको जाँच गरिन्। उनले उपभोक्ताको स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्ने अधिकार सुनिश्चित गर्न कानुनको प्रभावकारी कार्यान्वयन तथा निर्धारित मापदण्डको पालना अनिवार्य रहेको बताइन्।

सरकारका अनुसार, यस कानुनको प्रभावकारी कार्यान्वयनबाट मासुको खरिद, भण्डारण तथा बिक्री वितरणको व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन सकिनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande