
काठमाडौँ, २६ नोभेम्बर (हि.स.)। हिमाली क्षेत्रमा हिमनदीका ताल फुटेर आउने बाढी (ग्लोफ) को जोखिम कम गर्न तथा स्थानीय समुदायको जनधनको सुरक्षा गर्ने उद्देश्यले नेपाल सरकार र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) ले करिब ५ करोड अमेरिकी डलरको महत्वाकाङ्क्षी परियोजना शुरु गरेका छन्।
‘ग्लोफ सञ्जीवनी’ नामक यस परियोजनाबाट बाढीको उच्च जोखिममा रहेका क्षेत्रमा बसोबास गर्ने ३ लाख ८५ हजारभन्दा बढी मानिस प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। लाभान्वित हुनेमध्ये ५५ प्रतिशत महिला रहनेछन्। यसैगरी, परियोजनाको प्रभाव क्षेत्रभित्र पर्ने नदी उपत्यकाका तल्लो क्षेत्रमा बसोबास गर्ने करिब २० लाख मानिस अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
मङ्गलबार काठमाडौँमा आयोजित उद्घाटन कार्यशालामार्फत यस परियोजनाको औपचारिक शुरुवात गरिएको हो। कार्यक्रममा नेपाल सरकारका अधिकारी, हरित जलवायु कोष (जीसीएफ), यूएनडीपी, प्रादेशिक तथा स्थानीय सरकारका प्रतिनिधि, प्राविधिक विशेषज्ञ र विकास साझेदारहरूको सहभागिता रहेको थियो।
चार जोखिमपूर्ण हिमनदीय तालको जलस्तर घटाइनेपरियोजनाअन्तर्गत नेपालका चार उच्च जोखिमयुक्त हिमनदीय तालको जलस्तर घटाइनेछ। यसमा मनाङ जिल्लाको दोना (थुलागी), सङ्खुवासभाको लोअर बरुण तथा सोलुखुम्बु जिल्लाका लुम्दिङ छ्यो र होंगु-२ ताल समावेश छन्।
योजनाअनुसार दोना, लोअर बरुण र लुम्दिङ छ्यो तालको जलस्तर तीन-तीन मिटर घटाइनेछ भने होंगु-२ तालको जलस्तर एक मिटर कम गरिनेछ।
यसका अतिरिक्त बाढीको जोखिम कम गर्न मौसम तथा जलविज्ञानसम्बन्धी निगरानी प्रणालीलाई सुदृढ बनाइनेछ। आधुनिक पूर्वसूचना प्रणालीको विस्तार, जलवायु जोखिमसम्बन्धी सूचना तथा योजना निर्माण र नदी उपत्यकाहरूमा प्राकृतिक उपाय तथा सुरक्षा संरचनाको विकाससमेत गरिनेछ।
हरित जलवायु कोषले ३६.१६ मिलियन डलर अनुदान दिनेजलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक एवं प्रवक्ता डा. राजन भट्टराईका अनुसार, परियोजनाको कुल लागत ४.९९४ हजार डलर रहेको छ। यसमध्ये हरित जलवायु कोषले ३६.१६ मिलियन डलर अनुदानस्वरूप उपलब्ध गराउनेछ।
नेपाल सरकारले ११.३२ मिलियन डलर, यूएनडीपीले २.१४ मिलियन डलर तथा निजी क्षेत्रका साझेदारहरूले ३ लाख २० हजार डलर सहवित्तीय सहयोग उपलब्ध गराउनेछन्।
२०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस परियोजनाको कार्यान्वयन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रमार्फत गरिनेछ। यसअन्तर्गत मर्स्याङ्दी, अरुण, दूधकोशी र लोअर अरुण नदी उपत्यकाका संवेदनशील क्षेत्रमा पूर्वसूचना प्रणालीको समेत विस्तार गरिनेछ।
आपदाछि होइन, आपदाअघि नै जोखिम न्यूनीकरणमा जोडजल तथा ऊर्जा आयोग सचिवालयका सचिव नवीनराज सिंहले परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत तथा सहकार्यात्मक दृष्टिकोण अपनाइने बताएका छन्। उनले जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलाई उत्कृष्टता केन्द्रका रूपमा विकास गर्नुका साथै जलविद्युत् परियोजनाका विकासकर्ता, निजी क्षेत्र र अन्य सम्बन्धित पक्षसँगको सहकार्यलाई सुदृढ बनाउनुपर्ने आवश्यकतामाथि जोड दिएका छन्।
नेपालस्थित यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले यस परियोजनाले आपदा आएपछि राहत तथा उद्धार कार्यमा निर्भर रहने परिपाटीबाट अघि बढेर आपदाअघि नै जोखिम न्यूनीकरण गर्ने दिशामा महत्वपूर्ण परिवर्तन ल्याउने बताएकी छन्।
उनले दुई महिनाअघि रसुवा-भोटेकोशी र गण्डकी नदी उपत्यकामा आएको बाढीले जलवायु परिवर्तनसँग सम्बन्धित जोखिम कसरी तीव्र गतिमा ठूलो मानवीय तथा आर्थिक सङ्कटमा परिणत हुन सक्छ भन्ने देखाएको बताइन्। त्यसैले आपदाअघि नै जोखिमको मूल्याङ्कन तथा न्यूनीकरण गर्नु र विकाससम्बन्धी लगानीको सुरक्षा गर्नु आवश्यक रहेको उनको भनाइ छ।
३० वर्षमा हिमनदीय तालको क्षेत्रफल २५ प्रतिशत बढ्योयूएनडीपीका प्रमुख प्राविधिक विशेषज्ञ एवं परियोजना समन्वयक दीपक केसीले १९८७ देखि २०१७ सम्मको अवधिमा नेपालका हिमनदीय तालहरूको कुल क्षेत्रफल २५ प्रतिशतले वृद्धि भएको जानकारी दिएका छन्। उनले यो हिमाली क्षेत्रमा जलवायु परिवर्तनको बढ्दो प्रभाव र हिमनदीय तालसँग सम्बन्धित विपद्को बढ्दो जोखिमको सङ्केत रहेको बताए। उनले चारवटा तालको जलस्तर घटाउने योजनाले लाखौँ मानिसको ज्यान बचाउन सक्ने सम्भावना रहेकाले यसलाई ‘सञ्जीवनी’ नाम दिइएको बताए।
अर्थ मन्त्रालयका सहसचिव एवं हरित जलवायु कोषका लागि नेपालका राष्ट्रिय निर्दिष्ट प्राधिकरण अमृत लम्सालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा पनि कम रहे तापनि जलवायु परिवर्तनका गम्भीर परिणामको सामना देशले गरिरहेको बताए। उनले यस परियोजनामार्फत जोखिम न्यूनीकरणका प्रयासलाई राष्ट्रिय विकासका प्राथमिकता र जवाफदेहिताको व्यवस्थासँग जोडिने बताए।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तनलाई ध्यानमा राख्दै हिमनदीय ताल फुट्ने जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले कुनै हिमनदीय तालको प्राकृतिक बाँधमा सामान्य क्षति पुग्दासमेत ठूलो आर्थिक नोक्सानी हुन सक्ने उल्लेख गरे।
उनले तालको जलस्तर घटाउने काम पर्यावरणीय तथा सामाजिक सुरक्षा मापदण्डको पालना गर्दै गरिने स्पष्ट पारे।
स्थानीय समुदायको सहभागितामा पनि जोडराष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेतीले पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुको अर्थ वैज्ञानिक सूचनाहरू सम्भावित आपदा आउनुभन्दा पर्याप्त समयअघि प्रभावित समुदायसम्म पुर्याउनु रहेको बताए।
कोशी प्रदेश सरकारको वन मन्त्रालयका सचिव इन्द्रप्रसाद सापकोटाले परियोजनामा प्रादेशिक तथा स्थानीय सरकारको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले कोशी नदी उपत्यकासहित विपद्को जोखिम रहेका क्षेत्रमा सङ्घीय सरकारसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको बताए।
परियोजनाका लक्षित क्षेत्रमध्ये एक मनाङको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले वैज्ञानिक अनुसन्धान, भूमिको उपयोगसम्बन्धी विस्तृत योजना र स्थानीय समुदायको सहभागिताबाट सुरक्षित बस्तीको विकास तथा जीविकोपार्जनमा सुधार आउने अपेक्षा व्यक्त गरे।
परियोजनाको कार्यान्वयन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गर्नेछ। यसमा चुरे तथा जलाधार संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिनेछ।
अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल पनि यस परियोजनाका प्रमुख साझेदार रहनेछन्।
हिन्दुस्थान समाचार / Sachin Budhauliya