चक्रवात मुरासुले तटीय क्षेत्रमा प्रवेश गर्ने प्रक्रिया पूरा गर्यो, आन्ध्र प्रदेशका तीन जिल्लामा रेड अलर्ट जारी
चक्रवाती तूफान मुरासु की तस्वीर


अमरावती, ०३ नोभेम्बर (हि.स.)। चक्रवाती तूफान मुरासुले मंगलवार बिहानै दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको छ। ओङ्गोल नजिकै समुद्री तटसित ठोक्किने प्रक्रिया पूरा भएसँगै राज्यको मौसम अवस्थालाई ध्यानमा राख्दै विशाखापत्तनम मौसम विज्ञान केन्द्रले तीन जिल्लामा रेड अलर्ट तथा बाँकी जिल्लाहरूमा अरेन्ज अलर्ट जारी गरेको छ। आन्ध्र प्रदेश राज्य विपद् व्यवस्थापन प्राधिकरणले मंगलवार बिहान चक्रवातको अवस्था र त्यसबाट पर्न सक्ने सम्भावित प्रभावबारे विस्तृत जानकारी सार्वजनिक गरेको छ।

भारत मौसम विज्ञान विभाग (आईएमडी) अनुसार, चक्रवात मुरासु मंगलवार बिहान दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको हो। बिहान ३:३० देखि ५:३० बजीबीच नेल्लोर र नरसापुरको मध्यभागमा पर्ने ओङ्गोल नजिकै समुद्री तटसित ठोक्किने प्रक्रिया पूरा भएको थियो। यस क्रममा हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटरसम्म पुगेको थियो भने केही स्थानमा अधिकतम गति प्रतिघण्टा १२० किलोमिटर मापन गरियो।

आईएमडीले तट पार गरेपछि चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने पूर्वानुमान गरेको छ। मंगलवार दिउँसोसम्म कमजोर हुँदै चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको छ। यस अवधि हावाको गति प्रतिघण्टा ८० देखि ९० किलोमिटर रहने र हावाको झोक्काको गति प्रतिघण्टा १०० किलोमिटरसम्म पुग्नसक्ने अनुमान गरिएको छ। मौसम विभाग अनुसार मंगलवार मध्यरातसम्म चक्रवात थप कमजोर हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुन सक्नेछ।

चक्रवातले समुद्री तट पार गर्ने क्रममा प्रकाशम जिल्लाको कोथापटनम समुद्री तटीय क्षेत्रमा तीव्र हावाहुरीसँगै भारी वर्षा भयो। राज्यका अन्य धेरै क्षेत्रमा पनि वर्षा भइरहेको छ। यसैबीच, एनटीआर जिल्लाका जिल्ला अधिकारी जी. लक्ष्मीशाले जिल्लाको अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको बताएका छन्। हालसम्म कुनै अप्रिय घटना वा ठूलो अवरोधको जानकारी प्राप्त नभएको र प्रशासनले परिस्थितिमाथि निरन्तर निगरानी गरिरहेको उनले बताए।

आईएमडीले सामाजिक सञ्जाल एक्स मार्फत सार्वजनिक गरेको जानकारी अनुसार, चक्रवात मंगलवार बिहान ३:३० देखि ५:३० बजीबीच लगभग १५.५३ डिग्री उत्तरी अक्षांश र ८०.२२ डिग्री पूर्वी देशान्तरनजिकै दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गरेको थियो।

रियल टाइम गभर्नेन्स सोसाइटी तथा आन्ध्र प्रदेश राज्य विपद् व्यवस्थापन प्राधिकरणले ३ नोभेम्बरमा जारी गरेको अद्यावधिक विवरण अनुसार चक्रवात पछिल्लो छह घण्टामा औसत प्रतिघण्टा नौ किलोमिटरको गतिमा अघि बढ़िरहेको थियो। सूचना जारी गर्दाको समयमा यसको केन्द्र ओङ्गोलबाट लगभग २० किलोमिटर, बापट्लाबाट ६० किलोमिटर, कावलीबाट ७० किलोमिटर, नेल्लोरबाट ११० किलोमिटर र मछलीपट्टनमबाट १३० किलोमिटर टाढ़ा रहेको थियो।

चक्रवातको प्रभावलाई ध्यानमा राख्दै प्रशासन तथा विपद् व्यवस्थापन निकायहरूलाई सतर्क अवस्थामा राखिएको छ। अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा मौसम विभागले जारी गरेका चेतावनीहरूको पालना गर्न आग्रह गरेका छन्। अनावश्यक रूपमा घरबाहिर ननिस्कन र तीव्र हावाहुरी तथा भारी वर्षाका बेला सुरक्षित स्थानमा बस्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रशासनले चक्रवातले समुद्री तट पार गरिसके पनि खतरा पूर्ण रूपमा समाप्त नभएको स्पष्ट पारेको छ। राज्यका विभिन्न क्षेत्रमा अझै तीव्र हावाहुरी र भारी वर्षाको प्रभाव रहन सक्ने सम्भावना छ। त्यसैले विद्युत्का खम्बा, रुख तथा कमजोर संरचनाबाट टाढ़ा रहन र प्रशासनद्वारा जारी सुरक्षा निर्देशहरूको पालना गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande