
पटना, ०३ नोभेम्बर (हि.स.)। बिहारको मधुबनी जिल्लाको बाबूबरही थाना क्षेत्र अन्तर्गत बलिराजगढ़ गाउँमा सोमवार अबेर राति एउटा घरमा प्रवेश गरेका सहायक उपनिरीक्षक (एएसआई) ले पक्राउ पर्ने डरले अन्धाधुन्ध गोली चलाउँदा महिला सहित दुई जना ग्रामीणको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। घटनापछि सम्पूर्ण क्षेत्रमा तनावको वातावरण सिर्जना भएको छ। आरोपी एएसआईलाई पक्राउ गर्न पुलिसले पाँच वटा विशेष टोली गठन गरेको छ। साथै, उनीबारे सूचना दिनेलाई २५ हजार रुपियाँ पुरस्कार दिने घोषणा पनि गरिएको छ।
गोली प्रहारमा ज्यान गुमाउनेहरूमा अशोक यादव (४५) र फूलो देवी (४०) रहेका छन्। फूलो देवीको पेटमा गोली लागेको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई उच्च उपचार केन्द्र (हायर सेन्टर) रेफर गरिएको थियो, तर बाटोमै उनको मृत्यु भयो। त्यस्तै, अशोक यादवको छाती र तिघ्रामा गोली लागेको थियो। यस बाहेक विजेन्द्र यादव (४५) को घाँटीमा र धनिकलाल यादवको खुट्टामा गोली लागेको छ। दुवै घाइतेको उपचार भइरहेको छ।
घटनाको सूचना प्राप्त भएपछि मङ्गलवार पुलिस अधीक्षक (एसपी) योगेन्द्र कुमार गाउँ पुगे। उनले राति लगभग एक बजी बलिराजगढ़ गाउँमा गोली चलेको सूचना पुलिसलाई प्राप्त भएको बताए। प्रारम्भिक जानकारी अनुसार, आरोपी एएसआई पुलिस पिकेटमा तैनाथ थिए र गाउँकी एक महिलासँग उनको कथित अवैध सम्बन्ध थियो। यही कारण उनी गाउँमा आउने-जाने गर्थे।
एसपी अनुसार, सोमवार अबेर राति पनि आरोपी गाउँ पुगेका थिए। यस क्रममा स्थानीय बासिन्दाहरूले उनलाई देखेपछि घरभित्रै थुनेका थिए। आफूलाई मानिसहरूले घेराबन्दी गरेको देखेपछि आरोपीले कोठाभित्रबाट तीनदेखि चार राउन्ड गोली चलाए। गोली प्रहारबाट चार जना घाइते भए।
घटनाको जानकारी प्राप्त हुनासाथ डायल ११२ को पुलिस टोली घटनास्थल पुग्यो र सबै घाइतेलाई तत्काल सदर अस्पताल पुर्याइयो। अस्पतालमा चिकित्सकहरूले अशोक यादवलाई मृत घोषित गरे। त्यस्तै, फूलो देवीको अवस्था गम्भीर रहेकाले उनलाई उच्च उपचार केन्द्रमा रेफर गरिएको थियो, तर बाटोमै उनको मृत्यु भयो।
एसपी योगेन्द्र कुमारले आरोपी एएसआईलाई तत्काल प्रभावबाट निलम्बन गरिएको बताए। उनलाई सेवाबाट बर्खास्त गर्ने प्रक्रिया पनि अघि बढ़ाइने उनले जानकारी दिए। आरोपीको गिरफ्तारीका लागि पुलिसका पाँच वटा टोली गठन गरिएको छ। पुलिसले उनको खोजीमा सम्भावित ठेगानाहरूमा छापामारी गरिरहेको छ।
एसपीले आरोपी एएसआईका बारेमा विश्वसनीय सूचना दिने व्यक्तिलाई २५ हजार रुपियाँ पुरस्कार दिने घोषणा गरेका छन्। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ। घटनापछि गाउँमा तनावको अवस्था रहेकाले पुलिस प्रशासन सतर्क रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी