राज्यपाल गौतमले एसटीएनएम अस्पताल र हेलेन लेप्चा मेडिकल कलेजको निरीक्षण गरे, बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए
राज्यपाल गौतमले एसटीएनएम अस्पताल र हेलेन लेप्चा मेडिकल कलेजको निरीक्षण गरे


गान्तोक, 03 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले पदभार ग्रहण गरेपछि आज गान्तोकस्थित नयाँ सर थुटोब नामग्याल मेमोरियल (एसटीएनएम) अस्पतालको भ्रमण गरे। यस अवसरमा उनले अस्पतालका विभिन्न वार्डहरूको निरीक्षण गर्दै उपचाररत बिरामीहरूसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। साथै, बिरामीहरूलाई फलफूलको टोकरी प्रदान गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

उनले अस्पतालमा उपलब्ध आधारभूत सुविधाहरूको पनि निरीक्षण गर्नुका साथै विभिन्न महत्त्वपूर्ण सुझावहरू दिए। यस अवसरमा राज्यपालका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजे पनि उपस्थित थिए।

अस्पताल परिसरमा राज्यपालले स्वास्थ्य विभागका सचिव छेवाङ ग्याछो तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुथ योञ्जनसँग समीक्षा बैठक गरे। बैठकमा उनले अस्पतालको भौतिक पूर्वाधार, जीवनरक्षक औषधिहरूको उपलब्धता, चिकित्सक तथा अर्धचिकित्सकीय कर्मचारीहरूको कार्यशैली र समग्र स्वास्थ्य सेवा प्रणालीबारे विस्तृत जानकारी लिए।

त्यसपछि राज्यपालले नवनिर्मित हेलेन लेप्चा सिक्किम सरकारी मेडिकल कलेजको पनि भ्रमण गरे। त्यहाँ उनले सर्वप्रथम स्वतन्त्रता सेनानी हेलन लेप्चाको प्रतिमामा खदा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरे।

यसपछि उनले चिकित्सा शिक्षासम्बन्धी पूर्वाधार, प्रयोगशाला तथा शैक्षिक गतिविधिहरूको समीक्षा गर्नुका साथै मेडिकल कलेजको पहिलो समूहका विद्यार्थीहरूसँग अन्तरक्रिया गरे।

यसका अतिरिक्त, राज्यपालले अस्पतालका प्राध्यापक तथा अधिकारीहरूसँग कुराकानी गर्दै उक्त संस्थान नयाँ भारत निर्माणको विकासद्वार रहेको बताए। उनले युवा विद्यार्थीहरूलाई पूर्ण निष्ठा र सेवाभावका साथ चिकित्सा क्षेत्रमा अघि बढ्न आग्रह गरे। साथै, भविष्यमा सिक्किमसहित देशका दुर्गम क्षेत्रहरूसम्म सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउन उनीहरूले अमूल्य योगदान दिन सक्ने विश्वास व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande