केन्द्रिय मन्त्री राजीव रञ्जन सिंहले अर्किडेरियमको भ्रमण गरे
केन्द्रिय मन्त्री राजीव रञ्जन सिंहले अर्किडेरियमको भ्रमण गरे


गान्तोक, 03 नोभेम्बर (हि.स.)। भारत सरकारका मत्स्यपालन, पशुपालन तथा दुग्ध विकास मन्त्री राजीव रञ्जन सिंहले आज बिहान गान्तोकस्थित रिज पार्क अर्किडेरियमको भ्रमण गरे।

यस अवसरमा उनीसँग सिक्किम सरकारका मत्स्यपालन, पशुपालन तथा पशु चिकित्सा सेवा विभागका मन्त्री पुरण कुमार गुरुङ, भारत सरकारको मत्स्यपालन विभागका सचिव डा. अभिलक्ष लिखी, पशुपालन तथा दुग्ध विकास विभागका सचिव नरेश पाल गंगवारलगायत भारत सरकारका विभिन्न विभागका प्रतिनिधि तथा सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।

स्वर्ण जयन्ती मैत्रेय मञ्जरी परिसरमा अवस्थित उक्त अर्किडेरियम सिक्किमको पुष्प विविधता तथा पर्यावरण संरक्षणप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा रहेको छ। यहाँ स्थानीय प्रजातिका सुनाखरी फूलहरूको संरक्षण गरिँदै आएको छ। यस केन्द्रले प्राकृतिक वासस्थान संरक्षण तथा जिम्मेवार पर्यटन अभ्यासप्रति राज्यको प्रतिबद्धतालाई समेत उजागर गरेको छ।

भ्रमणका क्रममा केन्द्रिय मन्त्रीलाई अर्किडेरियमको निर्देशित अवलोकन गराउँदै यसको विशिष्ट विशेषता तथा यहाँ सङ्ग्रह गरिएका विभिन्न प्रजातिका सुनाखरी फूलहरूबारे जानकारी गराइएको थियो। यस क्रममा सुनाखरीका विभिन्न उपयोगिता तथा तिनलाई सुरक्षित रूपमा एक स्थानबाट अर्को स्थानमा लैजाने परम्परागत विधिबारे पनि जानकारी दिइएको थियो।

भ्रमण सम्पन्न गर्नुअघि केन्द्रिय मन्त्री सिंहले आगन्तुक पुस्तिकामा आफ्ना अनुभव तथा प्रतिक्रिया अभिलेख गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande