
कोलकाता, 04 नोभेम्बर (हि.स.)। उत्तराखण्डको दुर्गम केदारताल क्षेत्रमा ट्रेकिङ अवधि हिमपैह्रोको चपेटामा परी बेपत्ता भएका आठ जना मानिसहरूमध्ये एकजना महिला र एकजना पुरुषको शव गए मङ्गलवार बरामद भएको छ। दुवैको शव हिउँमा गाडिएको अवस्थामा फेला परेको थियो। घटनाको जानकारी मङ्गलवार राती बाँकुड़ा जिल्ला प्रशासनलाई प्राप्त भएको थियो। दुई शवको पहिचान बुधवार हुनेछ।
प्रशासन अनुसार गत 29 अक्टोबरमा उत्तराखण्डको उत्तरकाशी जिल्ला अन्तर्गत केदारताल तालबाट तल झर्दै गर्दा केदार खड़क नजिकै पर्वतारोहीहरूको 12 सदस्यीय टोली हिमपैह्रोको चपेटामा परेको थियो। तीमध्ये चारजना सुरक्षित फर्केका छन् भने बाँकुड़ाका पाँच जना युवक, उत्तर प्रदेशका दुई जना महिला ट्रेकर र एकजना स्थानीय गाइड सहित आठ जना बेपत्ता भएका छन्।
मङ्गलवार बिहान करिब 7ः30 बजे उत्तराखण्ड आपदा व्यवस्थापन बल, नेहरू पर्वतारोहण संस्थान एवं अन्य उद्धार टोलीहरूले संयुक्त रूपमा खोजी अभियान शुरु गरे। जिल्ला आपदा व्यवस्थापन अधिकारी, उत्तरकाशी, शार्दुल गुसाइले बताए, केदार खड़क नजिकै खोजी गर्दा दुईवटा शव फेला परेको छ। तर उनीहरूको पहिचान हुन सकेको छैन। बुधवार पुनः खोजी अभियान सञ्चालन गरिनेछ।
बेपत्ता भएका आठ जनामध्ये बाँकुड़ा जिल्लाका पाँच जना साथीहरूमा क्रमैले रिन्टु मण्डल, तपस बाउरी, रतन घोष, उदय घोष र मनोज खवास सामेल छन्। तीमध्ये रिन्टु, तपस, रतन र उदय बाँकुड़ा दोस्रो ब्लकको आँचुड़ी शालबनी गाउँका बासिन्दा हुन् भने मनोज सोही ब्लकको केशरा गाउँका बासिन्दा हुन्।
यी पाँचजना युवकहरूको उमेर 23 देखि 40 वर्षबीचको छ। रिन्टु र तपस स्पन्ज फलामको कारखानामा काम गर्छन्। रतनले आफ्नो बुवाको चिया पसलमा सघाउने गर्छन्। उदय बड़जोड़ाको एउटा कारखानामा कार्यरत छन् भने मनोज निर्माण कार्यसित जोड़िएका र्छन्।
परिवारका सदस्यहरू अनुसार यी पाँच जना युवकहरू विगतमा पनि धेरै पटक पदयात्रा गरिसकेका थिए। सबै 24 अक्टोबरमा बाँकुड़ाबाट निस्किएका थिए। रिन्टुका दाज्यु सिन्टु मण्डलले बताए, अक्टोबर 26- मा आफ्नो भाइसँग अन्तिम पटक फोनमा कुरा भएको थियो जतिबेला उनले आगामी पाँच-छ दिनसम्म मोबाइलमा सम्पर्क नहुने बताएका थिए। दुई जनाको शव फेला परेको खबरपछि परिवारको चिन्ता बढेको छ। उनले आफ्नो भाइ र उनका सबै साथीहरू सुरक्षित रूपमा फर्कने आशा व्यक्त गरे।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले पनि यस घटनामा चिन्ता व्यक्त गरेका छन्। उनले एक्समा जानकारी दिए, राज्य सरकारले उत्तराखण्ड सरकारसँग निरन्तर सम्पर्क कायम गरिरहेको छ। एडीजी (कानुन एवं व्यवस्था) तथा बाँकुड़ाका पुलिस अधीक्षकलाई सम्पूर्ण घटनाक्रममाथि निगरानी राख्ने अनि दुई राज्यबीच समन्वय राख्ने जिम्मेवारी दिइएको छ।
बितेको मङ्गलवार बाँकुड़ाका विधायक निलान्द्री शेखर दाना र बाँकुड़ा द्वितीय ब्लक बीडीओ शाहिद अलीले शालबनी गाउँको भ्रमण गरी बेपत्ता युवकहरूको परिवारसित भेट गरे। बाँकुड़ा जिल्ला मेजिस्ट्रेट अनिश दासगुप्ताले प्रशासन उत्तरकाशी प्रशासनसँग निरन्तर सम्पर्कमा रहेको र खोजी अभियानको विवरण पत्तो लगाइरहेको बताए। उनीहरूका परिवारका सदस्यहरूको सात सदस्यीय टोली पनि बेपत्ता व्यक्तिहरूको खोजीमा बाँकुड़ाबाट उत्तरकाशी तर्फ प्रस्थान गरेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा