पूर्वी कांगोमा दाएश समर्थित विद्रोहीद्वारा २० जनाको हत्या
सांकेतिक।


किन्शासा (कांगो), 10 फरवरी (हि.स.)। आतङ्कवादी समूह दाएश (आईएसआईएसको अरबी नाम) समर्थित विद्रोहीहरूले पूर्वी कांगोको एउटा गाउँमा सप्ताहन्तमा आक्रमण गरी कम्तीमा २० जनाको हत्या गरेका छन्। यो जानकारी सैन्य प्रशासक कर्नल एलेन किवेवा मिटेलाले दिएका हुन्।

अरब न्यूजको रिपोर्टअनुसार, सैन्य प्रशासक मिटेलाले बताए कि यो आक्रमण शनिबार बिहान उत्तरी किवु प्रान्तको लुबेरो क्षेत्रअन्तर्गत माम्बिम्बी-इसिगो गाउँमा भएको हो। यस आक्रमणका कारण ठूलो संख्यामा मानिसहरू विस्थापित भएका छन्। आक्रमणमा एलाइड डेमोक्रेटिक फोर्सेज (एडीएफ) तथा रवाण्डा समर्थित एम-२३ (मार्च २३ मूभमेन्ट) विद्रोही संलग्न हुन सक्ने आशंका गरिएको छ।

यस आक्रमणबारे हालसम्म एडीएफले कुनै प्रतिक्रिया दिएको छैन। स्थानीय सिभिल सोसाइटी कार्यकर्ताहरूका अनुसार, विद्रोहीहरूले पहिला किसानहरूका खेतहरूमा छापा मारे र त्यसपछि छुरी तथा अन्य हतियार प्रयोग गरी सर्वसाधारणमाथि आक्रमण गरे। बापेरेका सिभिल सोसाइटी प्रमुख किनोज किटवाले भने, “यो संख्या प्रारम्भिक मात्र हो, किनभने धेरै नागरिक अझै बेपत्ता छन्।” उनले उक्त क्षेत्रमा कांगो सेनाका सैनिकहरूको संख्या अत्यन्त कम भएकोमा आलोचना गरेका छन्।

यसअघि पनि एडीएफ र एम-२३ विद्रोहीसहित विभिन्न सशस्त्र समूहहरूले पूर्वी कांगोमा पटक-पटक घातक आक्रमण गर्दै आएका छन्। एडीएफले सन् २०१९ मा दाएशप्रति वफादारीको कसम खाएको थियो। एडीएफ विद्रोहीहरू युगाण्डासँगको सीमावर्ती क्षेत्रमा सक्रिय छन् र प्रायः सर्वसाधारणलाई निशाना बनाउने गरेका छन्। उत्तरी किवु प्रान्तीय सिभिल सोसाइटी समन्वय समितिका अनुसार, वर्षको शुरुदेखि बेनी र लुबेरो क्षेत्रमा एडीएफ विद्रोहीहरूले कम्तीमा ६२ जना नागरिकको हत्या गरेका छन्।

संयुक्त राष्ट्रसंघका शान्ति स्थापना प्रमुख जीन-पियरे लेक्राेइक्सले सोमबार पूर्वी कांगो र बेनीको दुईदिने आधिकारिक भ्रमण शुरु गरेका छन्। यी क्षेत्रहरू एडीएफका आक्रमणबाट विशेष रूपमा प्रभावित भएका छन्।

एडीएफको गठन सन् १९९० को दशकको अन्त्यतिर युगाण्डामा राष्ट्रपति योवेरी मुसेवेनीप्रति असन्तोषका कारण विभिन्न साना समूहहरू मिलेर गरिएको थियो। सन् २००२ मा युगाण्डा सेनाको कारबाहीपछि यो समूह छिमेकी कांगो प्रवेश गरेको थियो। यस समूहलाई हजारौँ सर्वसाधारणको हत्याका लागि जिम्मेवार ठहराइएको छ। जुलाई २०२५ मा मात्र यस समूहले कम्तीमा १०० जनाको हत्या गरेको थियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande