कतर ओपन: झेङको दमदार पुनरागमन, एन्ड्रीएवा अन्तिम-१६ मा
झेङ किनवेन


दोहा, १० फरवरी (हि.स.)। ओलम्पिक स्वर्ण पदक विजेता झेङ किनवेनले चोटबाट पुनरागमन गर्दै कतर ओपन टेनिस प्रतियोगितामा शानदार जित दर्ता गरेकी छन्। सोमबार भएको खेलमा झेङले २०२० अस्ट्रेलियन ओपन विजेता सोफिया केनिनलाई तीन सेटसम्म चलेको संघर्षपूर्ण खेलमा ४-६, ६-१, ६-२ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरिन्। अब उनको सामना एलिसिया पार्क्ससँग हुनेछ।

गत वर्ष सेप्टेम्बरपछि पहिलोपटक प्रतिस्पर्धात्मक टेनिसमा फर्किएकी झेङ हाल विश्व वरीयतामा २६औँ स्थानमा छिन्। सिजनको आफ्नो पहिलो खेलमै उनले २० ऐस प्रहार गर्दै बलियो सन्देश दिएकी छन्।

खेलपछि झेङले भनिन्, “चोटपछि पुनरागमन कहिल्यै पूर्ण रूपमा पीडामुक्त हुँदैन। तर मलाई लाग्छ, मेरो कुहिनो सही दिशामा निको हुँदैछ। म राम्रो अवस्थामा छु र दुई घण्टासम्म सर्भ गर्दै खेल जारी राख्न सक्छु।”

अर्कातिर, पाँचौँ वरीयता प्राप्त मिर्रा एन्ड्रीएवाले राउन्ड अफ ६४ मा बाई पाएपछि आफ्नो अभियान जितका साथ शुरु गरिन्। उनले मग्दा लिनेटलाई ७-६ (७/०), ६-१ ले हराउँदै अन्तिम-१६ मा स्थान बनाइन्।

दिनका खेलहरूमा केही ठूला उलटफेर पनि देखिए। तेस्रो वरीयता प्राप्त अमान्डा एनिसिमोवा करोलिना प्लिस्कोभाविरुद्ध तेस्रो सेटमा पछि पर्दै खेलबाट बाहिरिइन्। त्यस्तै, पूर्व युएस ओपन च्याम्पियन एमा राडुकानू पनि क्यामिला ओसोरियोविरुद्ध निर्णायक सेटमा रिटायर हुनुपर्‍यो।

मंगलबार शीर्ष दुई वरीयता प्राप्त इगा स्वियातेक र एलेना रयबाकिनाले राउन्ड अफ ३२ मा आ-आफ्नो अभियान शुरु गर्नेछन्। चौथो वरीयता प्राप्त कोको गफ पनि सिंगल्समा आफ्नो पहिलो खेल खेल्नेछिन्। गफले सोमबार उदीयमान स्टार भिक्टोरिया म्बोकोसँग डबल्समा पराजय व्यहोर्नुपरेको थियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande