
कराँची, १५ फरवरी (हि.स.)। पाकिस्तानको सिन्ध प्रान्तको खैरपुर जिल्लामा टंडो मस्ती नजिकै एउटा बस र बालुवा बोकेको ट्रेलर आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। मृतकमध्ये नौ जना यात्रु तथा बसका चालक र सहचालक रहेका छन्। उक्त बस पञ्जाबबाट कराँची जाँदै थियो। आज बिहान उद्धार अधिकारीहरूले यसबारे जानकारी दिएका हुन्।
जियो न्यूजले ईधी फाउण्डेशनको उद्धरण गर्दै जनाएअनुसार, यस दुर्घटनामा १० भन्दा बढी व्यक्ति घाइते भएका छन्। सबै घाइतेहरूको उपचार खैरपुर सिभिल अस्पतालमा भइरहेको छ। दुर्घटनापछि सिन्धका पुलिस महानिरीक्षकले खैरपुरका वरिष्ठ पुलिस अधीक्षकलाई तत्काल घटनास्थलमा पुगेर उद्धार कार्यको अनुगमन गर्न निर्देशन दिएका छन्।
यसैबीच, शुक्रबार एम-9 मोटर-वेमा कथोरे नजिकै धेरै सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्। तेल ट्यांकर, बस तथा अन्य सवारीसाधन एकआपसमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो। उद्धार अधिकारीहरूले मृतकमध्ये महिला र बालबालिका समेत रहेको पुष्टि गरेका छन्। ठोक्किँदा केही यात्रु पुलबाट खसेका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी