राज्यको श्रम मन्त्रीले लङभ्यू कमानको समस्या समाधान गर्न त्रिपक्षीय बैठक बोलाउने: राजेश चौहान
राज्यको श्रम मन्त्रीले लङभ्यू कमानको समस्या समाधान गर्न त्रिपक्षीय बैठक बोलाउने -राजेस चौहान


खरसाङ, 16 फरवरी (हि.स.)। जीटीएको डेपुटी चेयरम्यान राजेश चौहानको नेतृत्वमा आज खरसाङको लङ्भ्यू कमानका छवटा ट्रेड युनियनका प्रतिनिधिहरु, क्षेत्रीय सभासद कल्पना प्रधान, सन्त मेरिज ग्राम पञ्चायत तीनका पञ्चायत प्रधान मणिराज डुम्जनले राज्यका श्रममन्त्री मलय घटकसँग भेटवार्ता गरेका छन्।

उक्त बैठकपछि जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले कोलकाताबाट जानकारी दिँदै भने, भेटघाट सौहार्दपूर्ण रह्यो। मन्त्रीलाई जीटीए प्रमुख अनित थापाले अगावै जानकारी गराइसकेको मन्त्रीले बताए। यस भेटघाटमा मन्त्री घटकको सुझाउ अनुसार एक हप्ताभित्र कोलकातामा मन्त्री स्तरीय त्रिपक्षीय बैठक बोलाइने छ। बैठकमा मालिक, ट्रेड युनियन अनि सरकार पक्ष उपस्थित रहेनछन्। त्यही सभामा सरकारले चिया बगानको सञ्चालनमाथि चुडान्त निर्णय सुनाउने मन्त्रीले प्रतिनिधि मण्डललाई बताए।

उल्लेख्य, खरसाङको लङभ्यू चिया कमानको सञ्चालन विभिन्न कारणले अस्थिर रहेको छ। यसै अस्थिरतालाई सुल्झाउन विगत केही दिन अघि बगान सञ्चालनसँग सम्बन्धित छवटा ट्रेड युनियनका प्रतिनिधिहरूले जीटीए मुख्य कार्यपाल अनित थापालाई भेट गरेका थिए। त्यस समय अनित थापाले जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहानको नेतृत्वमा कोलकाता गई श्रम मन्त्रीलाई भेट्ने निर्देश दिएका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande