
खरसाङख् 16 फरवरी (हि.स.)। खरसाङको वार्ड नम्बर 13 मा भारतीय नेपाली (गोर्खा) सार्की समाज खरसाङ महकुमा समितिको समाज घर निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा भारतीय नेपाली (गोर्खा) सार्की समाज खरसाङ महकुमा समिति र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ गिद्द पहाड समष्टिका पदाधिकारीहरू उपस्थित थिए।
उक्त सार्की समाजको समाज घर निर्माणको लागि अर्जुन सार्कीको बाहुलीबाट भूमि पूजन गरेर शिलान्यास गरियो। शिलान्यास कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भागोप्रमो खरसाङ गिद्द पहाड समष्टिका सभापति प्रेमेन्द्र गुरूङले जीटीए प्रमुख अनित थापाको सहयोगमा सार्की समाजको समाज घर निर्माण हुन लागिरहेको बताउॅंदै जीटीए प्रमुखलाई धन्यवाद दिए। उनले पहाड शान्ति रहेमा यस्तो धेरै विकास हुॅंदै जानेछ भन्दै सार्की समाजलाई बधाई दिए।
सबिता कार्कीले जीटीए प्रमुख अनित थापाले वचन दिए अनुरुप आज सार्की समाज घरको निर्माण हुन लागिरहेको बताइन्। उनले सबैजना एकबद्ध भएर काम गरे धेरै विकास भएर जाने विश्वास दिलाइन्।
यसैगरी, भागोप्रमो सार्की समाज खरसाङ महकुमा समितिका उप सभापति अर्जुन सार्की र सल्लाहकार कुबीर सार्कीले भवनको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। समाज घर निर्माणको लागि सार्की समाजले पहल गरिरहेको बेला जीटीए प्रमुखले बनाइदिने वचन दिए अनुरुप आज समाज घरको निर्माण कार्य शुरू भइरहेको उनीहरूले बताए।
हिन्दुस्थान समाचार / हनोक