
गान्तोक, 16 फरवरी (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको विद्यार्थी शाखाको मासिक बैठक आज राजधानीस्थित पार्टी मुख्यालयमा सम्पन्न भयो। एसकेएम विद्यार्थी शाखाका अध्यक्ष छिरिङ वाङचुक लेप्चाको अध्यक्षतामा बसेको बैठकमा राज्यका विद्यार्थीहरूसॅंग सम्बन्धित विभिन्न मुद्दाहरू र उनीहरूका कल्याणबारे चर्चा गरियो।
बैठकमा समन्वय र विद्यार्थी प्रतिनिधित्वलाई सुदृढ़ पार्ने उद्देश्यले सिक्किमका विभिन्न सरकारी कलेजहरूका निर्वाचित एसआरसी सदस्यहरूसँग भेटघाट र अभिवादन कार्यक्रमको प्रस्तावित आयोजनको बारेमा छलफल गरियो। यसरी नै बैठकले आगामी सिक्किम कला तथा साहित्य महोत्सवको तयारी र सहभागिता योजनाबारे पनि समीक्षा गर्यो। पदाधिकारीहरूले मित्रता, एकता र तन्दुरुस्तीलाई प्रवर्द्धन गर्न विद्यार्थी शाखा र युवा शाखाबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने बारेमा पनि चर्चा गरे।
बैठकमा पार्टीको 14औं स्थापना दिवस सफलतापूर्वक सम्पन्न भएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ र पार्टी नेतृत्वलाई बधाई दिइयो। बैठकका क्रममा सबै सदस्यहरूले आफ्ना सीईसी सदस्यता नवीकरण गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
हिन्दुस्थान समाचार / बिशाल