
काठमाडौं, ०३ फरवरी (हि.स.)। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस निर्वाचनमा केपी शर्मा ओलीसँग कुनै पनि चुनावी तालमेल नहुने स्पष्ट गरेका छन्। आज काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै उनले सबै राजनीतिक दलका नेताहरूसँग संवाद भइरहेको बताए। ओलीको नाम लिँदै प्रचण्डले उनीसँग चुनावी तालमेलको कुनै सम्भावना नरहेको प्रष्ट पारे।
प्रचण्डले भने, “म यो कुरा पूर्ण स्पष्टताका साथ भन्न चाहन्छु कि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग पनि मेरो संवाद भइरहेको छ र कांग्रेसका नेताहरूसँग पनि। हिजो शेरबहादुर देउवाजीसँग भेट भयो। आज गगन थापासँग पनि छलफल जारी छ। केपी ओलीसँग कुरा गर्नुको अर्थ सिद्धान्त वा पहिचान समाप्त हुनु होइन। सबैसँग संवाद भइरहेको छ र भइरहनेछ।”
उनले यसपटक पार्टीले सबै १६५ निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको जानकारी दिए। कतै पनि कुनै चुनावी तालमेल नभएको उनले स्पष्ट गरे। उनले भने, “सबैसँग कुरा गर्नु मेरो विशेषता हो। म स्वाभाविक रूपमा संवाद गर्छु।”
झापामा केपी ओलीलाई समर्थन गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा प्रचण्डले राजनीतिमा केही पनि पूर्ण रूपमा असम्भव नहुने तर हालसम्म त्यस्तो कुनै समझदारी नभएको बताए। उनले भने, “अहिलेसम्म त्यस्तो कुनै कुरा छैन। केपी ओलीसँग कहिले फोनमा त कहिले प्रत्यक्ष भेटमा छलफल भइरहन्छ।”
उनले शेरबहादुर देउवा, केपी शर्मा ओली, रवि लामिछानेलगायत विभिन्न नेताहरूसँग यस अवधिमा भेटघाट भएको स्वीकार गरे। बालेन शाहका पिताको निधनका बेला उनी शोक व्यक्त गर्न र कुराकानी गर्न उनको घरसमेत गएको बताए। “देश कठिन चरणमा छ। परिवर्तनको जिम्मेवारी वहन गर्ने क्रममा मैले धेरै व्यक्तिहरूसँग संवाद गरेको छु,” प्रचण्डले भने।
रुकुम पश्चिममा केपी ओलीले उनको विरुद्ध अन्य दलहरूसँग तालमेल गरेको आरोपबारे प्रचण्डले यसले ओलीको सोच झल्काउने टिप्पणी गरे। उनले सो विषयमा ओलीलाई प्रत्यक्ष प्रश्नसमेत गरेको बताए। कुराकानीपछि ओलीले पूर्वी रुकुममा दिएको समर्थन फिर्ता लिएर आफ्नै उम्मेदवारलाई कायम राखे, यद्यपि त्यो प्रचण्डको समर्थनमा भने थिएन।
एमाले वा कांग्रेससँग मिलेर फेरि नम्बर एक पार्टी बन्ने सम्भावनाबारे सोधिएको प्रश्नमा प्रचण्डले ठोकुवा गर्दै भने, “न त एमालेसँग, न त कांग्रेससँग, कुनै पनि समीकरण छैन। यो एकदम स्पष्ट छ। जनतामा कुनै पनि भ्रम हुनु हुँदैन। हामी एक्लै जानेछौं, ‘नेपाली कम्युनिस्ट पार्टी’ का रूपमा १६५ सिटमा चुनाउ लड्नेछौं। र मलाई विश्वास छ, यसपटक पनि हामी राम्रो नतिजासहित नम्बर एक पार्टी बन्ने बलियो सम्भावना राख्छौं।”
---------------
हिन्दुस्थान समाचार / भवानी थामी