अमेरिकी राष्ट्रपतिको घोषणा– भारतसँग व्यापार सम्झौता सम्पन्न, ट्यारिफ तुरुन्तै घटाइने
डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी


वाशिङ्टन, ०३ फरवरी (हि.स.)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौता (ट्रेड डिल) सम्पन्न भएको घोषणा गरेका छन्। दुवै देशले एक–अर्काका वस्तुहरूमा लाग्ने ट्यारिफ तत्काल घटाउने सहमति गरेका छन्। ट्रम्पले ट्रुथ सोशलमा लेख्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल खरिद बन्द गर्ने तथा अमेरिका र सम्भवतः भेनेजुएलाबाट बढी तेल किन्ने प्रतिबद्धता जनाएको बताएका छन्। सोमबार भारतीय नेतासँगको वार्तापछि ट्रम्पले ट्रुथ सोशल पोस्टमार्फत प्रधानमन्त्री मोदी अमेरिकी उत्पादनहरू ठूलो परिमाणमा खरिद गर्न पनि सहमत भएको बताएका छन्।

ट्रम्पको घोषणाको पूर्ण विवरण

सीएनबीसीको रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पूर्ण घोषणा यसप्रकार छ, “आज बिहान भारतका प्रधानमन्त्री मोदीसँग कुरा गरेर मलाई निकै खुशी लाग्यो। उहाँ मेरा सबैभन्दा नजिकका मित्रमध्ये एक हुनुहुन्छ र आफ्नो देशका शक्तिशाली तथा सम्मानित नेता हुनुहुन्छ। हामीले व्यापार र रुस–युक्रेन युद्ध अन्त्यलगायत धेरै विषयमा छलफल गर्‍यौं। उहाँले रुसबाट तेल खरिद बन्द गर्ने र संयुक्त राज्य अमेरिका तथा सम्भवतः भेनेजुएलाबाट धेरै तेल किन्ने सहमति जनाउनुभएको छ। यसले युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्न मद्दत गर्नेछ, जहाँ हरेक हप्ता हजारौं मानिसहरू मरिइरहेका छन्। प्रधानमन्त्री मोदीसँगको मित्रता र पारस्परिक सम्मानका कारण तथा उहाँको अनुरोधमा हामीले तत्काल प्रभावबाट अमेरिका र भारतबीच ट्रेड डिलमा सहमति गरेका छौं, जसअन्तर्गत अमेरिकाले पारस्परिक ट्यारिफ २५ प्रतिशतबाट घटाएर १८ प्रतिशत बनाउनेछ। भारतले पनि अमेरिकाविरुद्धका आफ्ना ट्यारिफ र गैर–ट्यारिफ अवरोधहरू शून्यमा झार्नेछ। प्रधानमन्त्रीले ४६ लाख करोड़ रुपियाँ (५०० अर्ब डलर) भन्दा बढी मूल्यका अमेरिकी ऊर्जा, प्रविधि, कृषि, कोइला तथा अन्य धेरै उत्पादनहरू उच्च स्तरमा ‘बाय अमेरिकन’ गर्ने प्रतिबद्धता जनाउनुभएको छ। भारतसँगको हाम्रो उत्कृष्ट सम्बन्ध अझ बलियो हुनेछ। प्रधानमन्त्री मोदी र म दुवै काम पूरा गर्ने मानिस हौं, जुन कुरा धेरैका बारेमा भन्न सकिँदैन। यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद!”

ह्वाइट हाउसले तत्काल प्रतिक्रिया गरेन

ट्रम्पको घोषणाअनुसार फोन वार्तामार्फत भएको सहमति कुनै ढिलाइ बिना लागू हुनेछ। तर सीएनबीसीका अनुसार सम्झौताको लिखित रूप अझै सार्वजनिक भएको छैन र यसमा हस्ताक्षर भएको हो वा होइन भन्ने स्पष्ट छैन। ह्वाइट हाउस र अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले थप जानकारीका लागि गरिएको अनुरोधमा तत्काल जवाफ दिएका छैनन्।

केही प्रश्नहरू उठे

अमेरिकाका कानुनी विज्ञहरू र केही डेमोक्र्याटिक सांसदहरूले, विशेषगरी ट्रम्पले पुनः पद सम्हालेपछि यस्ता घोषणाहरू पटक–पटक गरेकाले, कंग्रेसको स्वीकृति बिना बाध्यकारी व्यापार सम्झौता गर्न सक्ने वा नसक्ने भन्ने प्रश्न उठाएका छन्। ट्रम्प र उनका समर्थकहरूका अनुसार कंग्रेसले कार्यकारी शाखालाई यस्ता सम्झौता गर्न अधिकार दिएको छ।

रोजर्स एन्ड ब्राउन कस्टम ब्रोकर्सको प्रतिक्रिया

रोजर्स एन्ड ब्राउन कस्टम ब्रोकर्सकी अपरेशन्स निर्देशक लोरी मुलिन्सले ट्रम्पका सार्वजनिक व्यापार घोषणामा हतारमा प्रतिक्रिया नदिने बताइन्। उनले भनिन्, “फेडरल रजिस्टरमा मिति, समय र लागू हुने ट्यारिफ कोडसहित सूचना प्रकाशित भएपछि मात्र यो आधिकारिक मानिन्छ।”

गत वर्ष अड्किएको थियो व्यापार वार्ता

ट्रम्प र मोदी प्रशासनबीचको व्यापार वार्ता गत वर्ष विभिन्न विषयमा अड्किएको थियो, जसमा नयाँ दिल्लीको रुसको तेलमा निरन्तर निर्भरता पनि समावेश थियो। अगस्तमा ट्रम्पले तेल खरिदको प्रतिक्रियामा भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाए। यो सोही महिनाको सुरुमा लागू गरिएको ‘पारस्परिक’ २५ प्रतिशत कर बाहेक थियो। सोमबारको पोस्टमा ट्रम्पले भारतमाथिको पारस्परिक ट्यारिफ दर घटाएर १८ प्रतिशत बनाइने र यो तुरुन्त लागू हुने बताएका छन्।

प्रधानमन्त्री मोदीको प्रतिक्रिया— धन्यवाद राष्ट्रपति ट्रम्प

ट्रम्पले लेखे, “भारतले पनि संयुक्त राज्य अमेरिकाविरुद्धका आफ्ना ट्यारिफ र गैर–ट्यारिफ अवरोधहरू शून्यमा झार्नेछ।” त्यसपछि प्रधानमन्त्री मोदीले एक्समा पोस्ट गर्दै अमेरिकी ट्यारिफ कटौतीको पुष्टि गरे। मोदीले लेखे, “मेड इन इन्डिया उत्पादनहरूमा अब ट्यारिफ घटाएर १८ प्रतिशत गरिएकोमा खुशी लागेको छ। यस उत्कृष्ट घोषणाका लागि भारतका १.४ अरब जनताको तर्फबाट राष्ट्रपति ट्रम्पलाई धेरै–धेरै धन्यवाद।”

भारत शान्ति प्रयासमा साथ

प्रधानमन्त्री मोदीले थप लेखे, “जब दुई ठूला अर्थतन्त्र र विश्वका सबैभन्दा ठूला लोकतन्त्रहरू सँगै काम गर्छन्, यसले हाम्रा जनतालाई फाइदा पुर्‍याउँछ र पारस्परिक लाभदायक सहकार्यका अपार अवसर खोल्छ। विश्व शान्ति, स्थिरता र समृद्धिका लागि राष्ट्रपति ट्रम्पको नेतृत्व महत्वपूर्ण छ। भारत शान्तिका लागि उनका प्रयासहरूलाई पूर्ण समर्थन गर्दछ। म हाम्रो साझेदारीलाई अभूतपूर्व उचाइमा पुर्‍याउन उहाँसँग मिलेर काम गर्न उत्सुक छु।”

विश्लेषकहरूको अनुमान सही सावित

ट्रम्पको यो घोषणा भारत र युरोपेली संघबीच ठूलो स्वतन्त्र व्यापार सम्झौता अन्तिम रूप दिइएको एक हप्तापछि आएको हो। केही विश्लेषकहरूले युरोप र भारतबीच भएको प्रगतिले नयाँ दिल्ली र वाशिङ्टनलाई द्विपक्षीय सम्झौताका लागि अघि बढ्न प्रेरित गर्ने भविष्यवाणी गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande